कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी

आइतबार बिहान पक्राउ परेका रौतहट-२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमविरूद्ध नेपाल प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा लैजाँदैछ।

घटना भएको १२ वर्षपछि प्रहरीले आलमलाई आइतबार रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।

आलमको बयान सुरू भइसकेको प्रहरी श्रोतले जनाएको छ। केही दिनमै उनीविरूद्ध अदालतमा मुद्दा लैजाने तयारी प्रहरीले गरेको छ।

के थियो घटना?

२०६४ साल चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भयो। विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भयो। एक दर्जनभन्दा बढी घाइते भए। घाइतेमध्ये केही नेपाली र अधिकांश सीमापारि भारतका नागरिक थिए। बम विस्फोट भएको केही दिनपछि सबै घाइते एकाएक हराए।

घटनाको केही समयपछि हराएमध्येका दुई नेपाली नागरिकका आफन्तले प्रहरीमा उजुरी गरे। शेख रुक्सना खातुन र श्री नारायण सिंहले संविधान सभाको चुनावमा नेपाली कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलममाथि गम्भीर आरोप लगाए। ११ जना घाइतेलाई आलमले इँटाभट्टाको भुंग्रोमा जलाएर मारेको उनीहरूले जाहेरी दिए।

आलममाथि लागेको आरोपको प्रहरीले त्यो बेला खासै छानबिन गरेन। आलम संविधान सभा निर्वाचनमा विजयी भए।

प्रहरीले गोप्य छानबिन गर्‍यो। छानबिनमा आलमले नै संविधानसभा चुनावमा ‘बुथ क्याप्चर’ गर्ने उद्देश्यले सीमापारिबाट मान्छे ल्याएर बम बनाउन लगाएको तथ्य खुल्यो। बम बनाउने क्रममा पड्किएर दुई जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना गम्भीर घाइते भएको प्रहरीले पत्ता लगायो। बमकाण्ड लुकाउन आलमले ती ११ जना घाइतेलाई इँटाभट्टाको भुंग्रोमा हालेर हत्या गरेको आरोप गाउँलेले लगाए।

प्रहरीले आलमलाई कार्यालय उपस्थित हुन ताकेता गर्‍यो। घटना भएको एक वर्ष अर्थात् २०६५ साल असार ९ गते आलम जिल्ला प्रहरी कार्यालयमा हाजिर भए। आलमसहित उनका ५ जना कार्यकर्तालाई समेत विपक्षी बनाएर प्रहरीले मुद्दा तयार गर्‍यो। तर महान्याधिवक्ताको कार्यालयले मुद्दा नै नचल्ने बताएपछि त्यो त्यत्तिकै थन्कियो।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा आलम श्रम तथा यातायात मन्त्री भए।

सरकारी वकिलको कार्यालयको निर्णय र आलमविरूद्ध शेख रुक्सना खातुन र श्री नारायण सिंहले सर्वोच्च अदालतमै रिट हाले। रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दियो।

अदालतको आदेश कार्यान्वयन भएन। खातुन र सिंहले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिए। पक्राउ गर्न पुनः आदेश जारी भयो। राजनीतिक रूपमा प्रभावशाली आलमलाई फेरि पनि प्रहरीले पक्राउ गरेन।

यसैबीच आलमविरूद्ध उजुरी दिने शेख रुक्सना खातुनको गोली हानी हत्या भयो। खातुनको हत्यापछि त्यस घटनाका पीडितका अन्य आफन्त पनि बोल्न सकेनन्।

आलम राजनीतिक रूपले मात्र बलिया थिएनन्, जिल्ला प्रहरी प्रमुखसमेत अक्सर आफू अनुकूलका लैजाने हैसियत राख्थे।

१२ वर्षपछि किन पक्राउ परे आलम?

आलमले २०६४ सालमा बम बनाउन प्रयोग गरेका एक जना व्यक्ति अहिले प्रहरीको सम्पर्कमा आएका छन्। उनी सो बमकाण्डका घाइते र आलमले अरू घाइतेलाई इँटाभट्टामा हालेको देख्ने साक्षी समेत भएको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार उनी अहिले प्रहरीको संरक्षणमा छन्। रुक्सना खातुनको हत्यामा पनि आलमको हात रहेको प्रमाण भेटिएको प्रहरीको दावी प्रहरीको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि पर्याप्त प्रमाण संकलन भएपछि उनलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।

‘त्यति बेला आलमविरूद्ध जाहेरी दिनेलाई नै गोली हानिएको थियो। अनुसन्धान गर्न पनि पीडितका परिवार बोल्ने अवस्थामा थिएनन्। अहिले समय अनुकूल भयो, मिल्यो। अनुसन्धान तीव्र पारेपछि प्रमाण पनि प्राप्त भयो,’ महानिरीक्षक खनालले भने, ‘त्यैसैले उनलाई पक्राउ गरिएको हो।’

१२ वर्षअघि रौतहटमा त्यो बमकाण्ड हुँदा महानिरीक्षक खनाल काठमाडौं प्रहरी परिसरका एसपी थिए। एसएसपीमा बढुवा भएपछि खनाल संयोगवश् अञ्चल कार्यालय नारायणीमा सरुवा भए। त्यतिखेर पनि यो केसको अनुसन्धान गरेका खनाल आलमले त्यो बेला गरेको अपराधसँग परिचित थिए।

यसपालि पनि नेपाल प्रहरीको मुख्य कार्यालयबाट उनकै निर्देशनमा टोली रौतहट गएर आलमलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस