सल्यान टुडे
सल्यान ३ कार्तिक
सल्यानमा धान जोन कार्यक्रममा लागु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कुमाख गाउँपालिकालाई धान जोनका रुपमा विकास गरिएकोे हो । धान जोन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ सय हेक्टरमा धान लगाइएको छ ।
गाउँपालिकाको जिमाली खोला देखि रागेचौर फाँट हुँदै भेरी नदीसम्मको क्षेत्रलाई धान जोनका रुपमा विकास गर्न लागिएको हो । यस्तै दोस्रो चरणमा बस्नेतज्युलाको एक सय हेक्टर धान जोनमा समावेश गरिने छ ।
गाउँपालिकाको मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ, जिमाली र स्विकोट बेंसी धानखेतीका लागि उपयुक्त रहेको गाउपालिका अध्यक्ष दिलमाया बुढामगरले बताउनुभयो । किसानलाई खेती देखि बजारीकरणसम्म सहयोग गर्ने गरी जोनका रुपमा विकास गर्न लागिएको उहाको भनाइ छ ।
कुमाखमा उत्पादन गरिएको अर्गानिक धान बाहिर पठाउने योजना छ । साथै यस कार्यक्रमका लागी यस वर्ष ७० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बुढामगरको भनाइ छ । उहाँले कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई खेतीदेखि बजारीकरणमा सहयोग गर्ने जानकारी दिनुभयो ।
गाउँपालिकालाई धान सँगै फलफूल र नगदेबालीमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सुरु गरेको जनाएको छ ।