सल्यान टुडे,
सल्यान ४, कार्तिक ।
सल्यानमा एक जनप्रतिनिधिको पद गुमेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ बाट निर्बाचित अनिता खड्का राईको वडासदस्य पद गुमेको हो । उहाँ स्थानिय तहको निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिला वडासदस्य पदमा निर्बाचित हुनुभएको थियो ।
राईले २ सय ८५ मत प्राप्त गरि निर्बाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार बसन्ती कुमारी योगीले २ सय ३० मत, नेपाली काँग्रेसकी उम्मेदवार बिमला कुमारी डाँगीले २ सय २५ मत र नेकपा माओबादी केन्द्रकी उम्मेदवार बसन्ता बिष्टले १ सय ६३ मत प्राप्त गर्नुभएको थियो । यस वडामा वडाअध्यक्ष नेकपा एमालेले जितेको थियो ३ वडासदस्य राष्ट्रिय प्रजातन्त्र पाटी र एक वडासदस्य नेपाली काँग्रेसले जितेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिला वडासदस्य पदमा निर्बाचित राईले पार्टी परित्याग गरेकाले उहाँको स्वतः पदरिक्त भएको जिल्ला निर्बाचन कार्यालय सल्यानले जनाएको छ । जिल्ला निर्बाचन अधिकारी हरि बहादुर बुढाथोकीले राजनितिक दल सम्बन्धी ऐन २०७३ मा ब्यबस्था भएअनुसार कुनै पनि निर्बाचित ब्यक्तिले आफ्नो निर्बाचित दल छाडेर अन्य दलमा प्रबेश गरेमा वा निर्बाचित दल परित्याग गरेमा स्वतः बिजयी भएको पदरिक्त हुने ब्यबस्था बमोजिम शारदा नगरपालिका वडा नम्बर २ को महिला वडासदस्य पदरिक्त रहेको बताउनुभयो ।
राईले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेको भन्दै गत साउनमा पार्टीले स्पष्टीकरण माग गरेको थियो । तर राईले स्पष्टीकरण नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हटाईएको निर्णयको प्रतिलिपि जिल्ला निर्बाचन कार्यालय सल्यानमा असोज ६ गते प्राप्त भएको थियो । राजनितिक दल सम्बन्धी ऐन २०७३ बमोजिम महिला वडासदस्य पदरिक्त भएको कार्यालयले जनाएको छ ।
यस बिषयमा शारदा नगरपालिका र शारदा नगरपालिका वडा नम्बर २ लाई पत्राचार गरिएको जिल्ला निर्बाचन कार्यालय सल्यानले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महिला वडासदस्य पदमा निर्बाचित राई अहिले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी सदस्य बन्नुभएको छ ।
वडासदस्यमा उपनिर्बाचन हुदैन्
जिल्ला निर्बाचन कार्यालय सल्यानले शादा नगरपालिका वडा नम्बर २ मा महिला वडासदस्य पदरिक्त रहेपनि उपनिर्बाचन नहुने जनाएको छ । जिल्ला निर्बाचन अधिकारी बुढाथोकीले वडाअध्यक्ष भन्दा माथीको पदमा मात्रै उपनिर्बाचन हुने भएकाले यस वडामा उपनिर्बाचन नहुने बताउनुभयो ।
‘शारदा नगरपालिका वडा नम्बर २ मा महिला वडासदस्य पदरिक्त रहेको छ, यहाँ उपनिर्बाचन हुदैँन्’ उहाँले भन्नुभयो ‘यसपदमा बसेर कसैले काम गर्न पनि पाउदैँन्, अर्को निर्बाचन भएपछि मात्रै नयाँ जनप्रतिनिधि आउँछ ।’
काम गर्न गाह्रो हुन्छः वडाअध्यक्ष
शारदा नगरपालिका २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले महिला वडासदस्य पदरिक्त हुदाँ काम गर्न गाह्रो भएको बताउनुभयो ।
‘सबै वडासदस्यहरुको सामुहिक छलफलबाट हामीले वडाको योजना तयार गर्दै आएका थियौँ । यसमा सबैको महत्वपूर्ण भूमिका थियो’ उहाँले भन्नुुभयो —‘अब काम गर्न अलि गाह्रो हुन्छ, वडाको बजेट बिनियोजन देखी कार्यान्वनमा समेत सबै वडासदस्यहरुको भूमिका अहम थियो ।’