सल्यान टुडे,
सल्यान ४, कार्तिक ।
सल्यानका किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । नेपालीहरुको महान चाड तिहार जस्ता ठुला चाडपर्व नजिकिए पनि खेतमा धान पाकेर पहेलपुर भएपछि जिल्ला भरका किसानहरुलाई पाकेको धान भित्र्याउन ब्यस्त भएका हुन् । जिल्लाको आधिकाँश स्थानमा किसानहरु धान काट्ने, चुट्ने, सुकाउने र पराल थन्काउनेमै व्यस्त छन् ।
खेतमा लह लह झुलेको धानमा पानी परेमा वर्षदिनभरीको दुःख खेर जाने भएकाले तिहार अघि नै खेतको धान भित्र्याउन थालेको बागचौर नगरपालिका १० पिपलनेटाका किसान दिपक लामीछानेले बताउनुभयो । ‘चाडपर्व नजिकै आइसक्यो, अबको एकदुई दिन मात्रै हो, त्यसपछि काम गर्ने फुर्सद पनि हुदैन, फेरी असिना पानी आयो भने त पाकी सकेको धानबाली सबै नष्ट गर्छ’ उहाँले भन्नुभयो ।
आउँदै गरेको तिहार फुर्सदसँग मनाउन र वर्ष दिन दुःख गरेर उब्जाएको धान भित्र्याउन रातदिन नभनेर व्यस्त भएको किसानको भनाई छ । चाडपर्वका बेला पाकेको धानबाली भित्र्याउन जनशक्ति कम हुने भएकाले पनि हतार गरेर भित्रायाउन थालेको उनीहरुको भनाई छ ।
यो वर्ष समयमै धान रोपाई भएको र रोग किराको संक्रमण पनि खासै नदेखिएकाले धान उत्पादन राम्रो हुने कृषि बिकास कार्यालय सल्यानको जनाएको छ । उन्नत जातका विउ बढि प्रयोग भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । यस आर्थिक बर्षमा जिल्लामा ७ हजार बढी हेक्टर क्षेत्रफलमा धान खेति गरिएको छ ।