कर्णालीका दुई स्थानीय तहले दिए युवालाई रोजगारी

सल्यान टुडे,
सल्यान ५ कार्तिक ।

कर्णालीका ७९ स्थानीय तहमध्ये दुईओटाले कार्यदल गठन गरी युवालाई गाउँमै रोजगारी दिएका छन् । दैलेखको गुराँस गाउँपालिका र कालीकोटको पलाता गाउँपालिकाले युवाका लागि रोजगारी सृजना गरेका हुन् । दुवै गाउँपालिकाले स्थानीय कार्यदल मार्पmत विकास निर्माणमा युवा जनशक्ति परिचालन गरेका छन् ।

गाउँमै युवालाई काम दिएपछि विकासका काम चुस्त ढंगले अघि बढेका छन् । रोजगारीले युवाको आयस्तर बढाउन पनि टेवा पुगेको छ । गुराँस गाउँपालिकाले युवा पलायन रोक्न ‘पूर्वाधार निर्माण कार्यदल’ गठन गरेर पालिकाभरका ८० जना युवालाई यसअघि नै काम दिएको थियो । अहिले थप ७२ जनालाई रोजगारी सृजना गर्न लागिएको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । ‘यो वर्षदेखि लागू हुनेगरी कार्यदलमा आबद्ध युवाका लागि छुट्टै सुरक्षा खातामा पहिले नै रू. १० हजार जम्मा गरिदिने निर्णय गरेका छौं,’ वलीले भन्नुभयो । उनीहरूले काम गरेबापत मासिक १० हजार रुपैयाँ तलब पाउने उहाले बताउनुभयो ।

पलाता गाउँपालिकाले युवा रोजगारीका लागि ‘निर्माण कार्यदल नाम’ दिएको छ । पालिकाले स्थानीय १५० जनालाई रोजगारी दिएको छ । साविकका तीन गाविस मिलेर बनेकाले तीन गाविसका ५०र५० युवालाई समेटिएको गाउँपालिकाले बताएको छ । मासिक २४ हजार रुपैयाँ दिनेगरी पालिकामा हुने विभिन्न योजना निर्माणमा उनीहरूलाई लगाइएको गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो ।

‘वडा नं २ को धौलागोर भन्ने स्थानमा करीब २ करोड रुपैयाँ लागतको खानेपानी आयोजनाको निर्माण छिट्टै सम्पन्न हुँदै छ,’ उहाँले भन्नुभयो । स्थानीय स्तरमै रोजगारी सृजना भएपछि युवाहरू उत्साहित छन् । साथै गाउँपालिकाको उक्त प्रयासको सबैतिर चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस