जंगली जनावरले अन्नबाली सखाप पारेपछि किसान चिन्तित

सल्यान टुडे,
सल्यान ७, कार्तिक ।
सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका सुविधाबाट वञ्चीत रहेका सल्यान खानीगाउँका वासिन्दालाइ जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ स्थित खानी गाउँका १९ घर परिवार जंगली जनावरको उपद्रोले गर्दा पिडित भएका हुन् । जंगली जनावर बँदेल, दुम्सी, गधै बाघ, बाँदरले हरेक वर्ष मकै, गहुँ लगाएतका वालीनालिमा क्षती पुर्याउने गरेको खानिगाउँका किसान तुलाराम डाँगीले बताउनुभयो ।


उहाँले जंगली जनावर विरुद्ध वडा कार्यालय र गाउँपालिकामा उजुरि दिँदै क्षतीपुर्तिको समेत माग गर्नुभएको छ । ‘२९ रोपनी खेतीयोग्य जमिन मध्ये १५ रोपनी बारीमा मकै खेती गरेको थिएं’ तुलारामले भन्नुभयो ‘६ रोपनी भन्दा बढि जमिनमा रोपेको मकै सबै बँदेल, दुम्सी, गधै बाघले नष्ट गरिदिए ।’ जंगली जनावरकै कारण १४ रोपनी जमिनमा खेती नै नगरिएको उहाँले बताउनुभयो । गाउँका ३० घर परिवार मध्ये १९ घर परिवारले खेती गरेको मकै वालीमा जंगली जनावरले उपद्रो मच्चाउने गरेको स्थानियको भनाई छ ।

अर्का कृषक हुर्मत खड्काको पनि ५ रोपनी भन्दा बढि क्षेत्रमा लगाएको मकै जंगली जनावरले नष्ट गरेका छन् । ‘६ नम्बर वडा कार्यालय र गाउँपालिकामा मैले निवेदन दिएको छु । जनावरको पिडाले गाउँमा बस्नै नसकिने स्थिती आयो । स्थानीय सरकारले केहि उपाय लगाईदिन्छ की भन्ने आशा छ’—उहाले भन्नुभयो ।

रातको समयमा एक साथ ८–१० वटाको समूहमा बँदेल मकै बारीमा पस्ने गरेको किसानहरुले बताउने गरेका छन् । बाँदरले दिउँसोको समयमा मात्रै क्षती गर्ने भएकाले धपाउन सजिलो हुने गरे पनि बँदेल, दुम्सी लगाएतका जनावरले वालीनाली बचाउनै मुस्किल भएको किसानहरुको दुखेसो छ । जनावर भगाउन बारिमा कोले झुण्डाएर बजाउने लगाएतका उपाय अवलम्बन गरेपनि प्रभावकारि हुन नसकेको उनीहरुले बताए ।

स्थानिय काउले खोला सामुदायीक वनबाट जंगली जनावर आएर वाली नालि नष्ट गर्ने गरेको किसानहरुले बताएका छन् । यसैविच कपुरकोट गाउँपालिकामा क्षतीपुर्तिका लागी निवेदन परेपछि गाउँपालिकाले सम्बन्धीत कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । क्षतीको विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अगाडि बढाउन सव डिभिजन वन कार्यालय कपुरकोट र कृषि विकास शाखालाई पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशसकीय अधिकृत अरुण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित