सल्यान टुडे,
सल्यान ७ कार्तिक ।
कर्णाली प्रदेश सरकारकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली प्रदेशलाई अर्गानीक प्रदेशका रुपमा बिकास गरिने बताउनुभएको छ । कर्णाली प्रदेश कृषि र पशुपालनको लागी थुप्रै सम्भावना भएको प्रदेश भएको बताउदैँ उहाँले यस प्रदेशलाई अर्गानिक प्रदेशमा रुपमा बिकास गरिने बताउनुभएको हो ।
आज सल्यानको श्रीनगरमा बद्यस्थल भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘कर्णाली प्रदेश सम्भावनाको खानी भएको प्रदेश हो, यहाँ उत्पादन भएको पशुजन्य, कृषिजन्य तथा बनजन्य बस्तुहरुको बजारीकरण गर्न सकेमा मात्रै हामी आत्म निर्भर बन्छौँ’ उहाँले भन्नुभयो ।
उहाँले ब्यबसायिक र आधुनिक तरिकाले लागेमा कृषि र पशुपालनको क्षेत्रबाट नै कर्णालीलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
कर्णाली प्रदेश सरकारकी प्रबक्ता समेत रहेकी मन्त्री केसीले यसका लागी प्रदेश सरकार लगानी गर्न तयार रहेको बताउनुभयो । ‘तपाईहरु भिजन सहित प्रदेशमा आउनुहोस, हामीले गर्नुपर्ने सहयोग गर्न हामी तयार छौँ’ उहाँले भन्नुभयो ।
जनसेबि कृषि सहकारी संस्थाका अध्यक्ष नबिन सिंह भँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकी लगाएतले बोल्नु भएको थियो ।
कर्णाली प्रदेश सरकारको ३५ लाख रुपैँया अनुदान र जनसेबि कृषि सहकारी संस्थाको १० लाख रुपैँया गरि जम्मा ४५ लाखको लागतमा बद्यस्थल भवन निर्माण गरिएको हो । कार्यक्रमको सञ्चालन सहकारीका सचिब लुब्ध कृष्ण भट्टराईले गर्नुभएको थियो ।