नेपाल बैँक लिमिटेड सल्यानमा टोकन सिस्टम शुरु

सल्यान टुडे,
सल्यान ८ कार्तिक ।

नेपाल बैँक लिमिटेड सल्यान शाखाले आफ्नो सेवालाई प्रभावकारी, ब्यबस्थित, सरल र सहज बनाउन टोकन सिस्टम शुरु गरेको छ । झन्डै ५० हजार रुपैँयाको लागतमा विद्युतीय टोकन सिस्टम सञ्चालन गरिएको हो । शाखाले हालै देखी टोकन सिस्टम शुरु गरेको शाखा प्रबन्धक हरिकृष्ण उपाध्ययले बताए ।


दैनिक ३ सय देखी ४ सय सम्म सेवाग्राही आउने बैँकमा ग्राहककै सहजताको लागि यो टोकन सिस्टम सुरु गरिएको उनले बताए । ग्राहक संख्या बढ़ी भएकोले भीडभाड़ हुँदा सेवाग्राहीलाई लामबद्ध भएर घन्टौँ लाइनमा बस्ने समस्या कम गर्न यो टोकन सिस्टम सुरु भएको हो । जसका माध्यमबाट महिला, बृद्ध, अशक्त लगाएतकालाई सेवा लिन अझ सहज हुने उनको भनाई छ । ‘बैँकमा आउने ग्राहकको संख्या बढ्दै गएको छ, हामीले ग्राहकको सहजताको लागी टोकन सिस्टम शुरु गरेका हौँ’ उनले भने ।

टोकन सिस्टम सुरु भएपछि अब नेपाल बैँक लिमिटेड सल्यान शाखाका ग्राहकले रकम निकाल्न, जम्मा गर्न लगाएतको लागी लाइन बस्न नपर्ने भएको छ । टोकनमा भएको नम्बर आएपछि कम्प्यूटरद्वारा सो नम्बरको ग्राहक बोलाईन्छ, र ग्राहक आफ्नो बैँकिङ्ग कारोबार गर्न काउन्टरमा जाने गर्छन् । नयाँ नयाँ प्रबिधिको प्रयोग मार्फत सेवा प्रबाहलाई सरलिकृत गर्दै गएको उनले बताए ।
शाखाले मोबाईल बैँकिङ्ग, ई—बैँकिङ्ग, एटिएम मेसिन लगाएतका अत्याधुनिक प्रबिधि मार्फत सेवा प्रबाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस