आज भाइटिका

सल्यान टुडे

१२ कार्तिक २०७६ सल्यान

आज तिहारको पाचौ दिन अर्थात भाइटिका ।आज देशभर तिहारको पाचौ दिन भाइटिका हर्षोउल्लास,उमङका साथ मनाइदै छ ।

नेपाल पन्चाग निर्णायक समितिका अनुसार भाइटिकाको शुभ साइत ११बजेर ५५ मिनेट्मा रहेको छ। आज दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि अभिजित मुहुर्तको शुभ साइत दिइएको जनाएको छ।

बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङ्मयमा पाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाइदिन्छन्। माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभको नाश गर्न कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ।

त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरंगी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुबो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ। यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ।

दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा, उपहार दिने प्रचलन छ। यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, गौ, लक्ष्मी गोवद्र्धन र भाइपूजा गरी पशुपक्षीलगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्य, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस