जाडो बढेसँगै राडीपाखीको कारोबार बढ्यो

सल्यान टुडे,
सल्यान १५, कार्तिक ।
जाडो बढेसँगै राडीपाखीको व्यापार बढेको छ । स्थानीय कच्चापदार्थ भेडाको ऊन, अल्लो, केतुके, केरा लगायतका रेसाबाट निकालिने धागोबाट बुनिने राडीपाखी, स्वेटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल र टोपी लगायतका वस्तुहरूको कारोबार बढेको हो । असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने स्थानीय व्यापारीहरूले बताएका छन् । एउटा राडीपाखीको मूल्य १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।


राडीपाखीहरू न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक व्यापार हुने रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ कि व्यापारी सूर्यकुमारी पुनले जानकारी दिनुभयो ।

पूर्वी रुकुमको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काक्रीलगायत स्थानका स्थानीय महिलाहरूले राडीपाखीको उत्पादन र विक्रीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । भुमे गाउँपालिका–८, रुकुमकी भोगीलाख विकले प्रत्येक वर्ष राडीपाखी विक्रीबाट साढे दुई लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुभयो ।

रुकुममा उत्पादित राडीपाखी बलियो र गुणस्तरीय हुने भएकोले जिल्लाका व्यापारिक क्षेत्रका साथै देशका विभिन्न शहर पोखरा, काठमाडौं, नेपालगञ्ज र सुर्खेत लगायतको क्षेत्रमा माग बढ्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस