सल्यानमा उपनिर्बाचनको तयारी शुरुः उम्मेदवार छनोटमा दलहरुलाई सकस

बुद्धि पुन, सल्यान टुडे,
सल्यान १९, कार्तिक ।
अगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सल्यानमा निर्वाचनको माहोल तात्दै गएको छ । विभिन्न राजनितिक दलहरुले आफ्ना उम्मेदवारको टुंगो लगाउँदैछन् भने जिल्ला निर्वाचन कार्यालयले पनि तयारी थालेको छ । निर्वाचन आयोगले सल्यानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकेको छ ।

जिल्ला अदालत सल्यानका जिल्ला न्यायधिस कुल प्रसाद पाण्डेलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । जिल्ला न्यायधिस पाण्डेलाई नै निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको निर्बाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।


जिल्लाको कुमाख गाउपालिका वडा नम्बर ५ मा उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तसँगै कात्तिक २० मा कुमाख गाउपालिकाको मुकाम रागेचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचन सम्वन्धी गतिविधिहरु अगाडि बढाइने बताइएको छ । यस्तै कार्तिक २७ गते उम्मेद्धारी दर्ता गरिने छ ।

कुमाख गाउँपालिका–५का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा चयन भएसँगै वडाअध्यक्ष पद रिक्त छ । बुढाथोकी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । बुढाथोकी अत्याधिक मतका साथ वडाअध्यक्षमा निर्बाचित हुनुभएको थियो । बुढाथोकीले ७ सय ८८ मत ल्याएर बिजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका अमृत बहादुर शाहले २ सय २९ मत र नेपाली कांग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले १ सय ८० मत प्राप्त गर्नुभएको थियो ।

वडामा १८३९ मतदाता
उपनिर्बाचन हुन लागेको कुमाख गाउपालिका ५ मा १ हजार ८ सय ३९ मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय सल्यानले जनाएको छ । उपनिर्बाचनका लागी मतदान केन्द्र समेत तोकिएको छ । यहाँ मतदान केन्द्र १ र मतदान स्थल २ वटा तोकिएको छ । शारदा माबि झारकाँडामा मतदान केन्द्र ताकिएको जिल्ला निर्बाचन अधिकारी बुढाथोकीले बताउनुभयो । उहाँले उपनिर्बाचनका लागी उपनिर्बाचन सुरक्षा समन्वय समिती गठन गरेर आबश्यक सुरक्षा तयारी अगाडी बढाईएको बताउनुभयो ।

उम्मेदवार छनोटमा सकस
उपनिर्बाचन हुन लागेको कुमाख गाउपालिका ५ मा उम्मेदवार छनोटमा सकस परेको छ । अहिले सम्म यहाँ कुनै पनि पार्टीले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । एउटा पदमा धेरै आकाक्षी भएकाले पनि उम्मेदवारको टुंगो लगाउन सकस भएको हो । उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छलफल गरिरहेको नेकपा कुमाख गाउपालिकाका सचिब भैरब बहादुर शाहले बताउनुभयो । उहाँले अबको केही दिनमा नै उम्मेदवारको टुंगो लगाउने बताउनुभयो ।

वडाअध्यक्षका लागी नेकपाबाट शारदा वली, पदम बुढा, अमृत बहादुर शाह लगाएतकाले आकांक्षा देखाएका छन् । यस्तै नेपाली काँग्रेसले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् भने आन्तरिक छलफल गरिरहेको जनाएको छ । नेपाली काँग्रेसबाट खड्क बहादुर बोहरा, काँसीराम कुमाई लगाएतले आकांक्षा देखाएका छन् । अन्य साना दलले पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

कुमाख गाउपालिका ५ मा प्रतिष्ठाको लडाई
जिल्लाको कुमाख गाउपालिका ५ मा वडाध्यक्षका लागी हुन लागेको निर्बाचनलाई प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । तत्कालिन नेकपा माओबादीले जितेको यस वडामा एमाले—माओबादी मिलेर नेकपा बनेपछि झन महत्वका साथ हेरिएको छ । पहिले नै वडाध्यक्ष जितेकाले फेरी पनि जित निकाल्नुपर्ने दवावमा नेकपा रहेको छ भने २०७४ को निर्वाचनमा पराजित भएको नेपाली काँग्रेसले यसपटक जसरी पनि जित निकाल्ने दाउमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस