४ वर्ष भित्रमा सल्यानका सबै बस्तीमा विजुली बत्ती पुग्छ : पूर्वमन्त्री बस्नेत

सल्यान टुडे,
सल्यान २०, कार्तिक ।
पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले आगामी ४ वर्ष भित्रमा सल्यानका सबै बस्तीहरुमा विजुली बत्ती पुग्ने बताउनुभएको छ । उहाँले सरकारले बिद्युत्त बिस्तारको कामलाई प्राथामिकतामा राखेकाले अबको ४ बर्षमा पुरै सल्यान झिलिमिलि हुने बताउनुभएको हो ।

ग्रामिण विद्युत लाईन विस्तार कार्यक्रम अन्तर्गत मंगलबार जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नं. १ सतिपोले धानेटाकुरामा बिजुली बत्तीको एमसिबि अन गरेर उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘स्थानीय तहले अब विजुलीमा बजेट विनियोजन गर्नुपर्दैन्, अन्य बिकास निर्माणका क्षेत्रमा लगाएर काम थाले हुन्छ’ उहाँले भन्नुभयो —‘बिद्युत्तको काम केन्द्र सरकारले गर्छ ।’


संघीय प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले विकासको बारेमा जानकारी नहुदाँ बिनास पनि हुने भएकाले बिजुलीको सञ्चालनमा ध्यान दिन सुझाव दिनुभयो । ‘विकासको कुनै सीमा हुँदैन, विकासमा मानिसको आकाँक्षा कहिल्यै पूरा हुँदैन’ उहाँले थप्नुभयो —‘अहिले विजुली बल्यो, भोलि बाटो चाहिन्छ, पानी चाहिन्छ, त्यसैले आत्तिएर हुँदैन, विकास हुन्छ, सरकार सहि ट्रयाकमा भएको विश्वास दिलाउन चाहन्छु ।’

सिद्धकुमाख गाउपालिका १ का वडाअध्यक्ष राम बहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने लगाएतले बोल्नु भएको थियो । वडा सदस्य पूर्ण बहादुर थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन दिप बहादुर वलीले गर्नुभएको थियो । ग्रामिण विद्युत लाईन विस्तार कार्यक्रम अन्तर्गत सिद्धकुमाख गाउँपालिका वडा नं.१ सतिपोले धानेटाकुराका करिव ४० घरधुरीहरुको घरमा बिजुली बलेको छ ।

प्रतिक्रिया दिनुहोस