सल्यान टुडे,
सल्यान २२, कार्तिक ।
साना किसान कृषि सहकारी संस्थाहरु बीच ब्यबसायिक कृषि बिकास सम्बन्धी १ दिने गोष्ठी बिहीबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । किसानका लागी उन्नत बीउ बीजन कार्यक्रम (केयूबिके) कार्यक्रम ब्यबस्थापन कार्यालय रुपेन्देहीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कृषि पेशालाई कसरी ब्यबसायिक गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । यस्तै कृषि पेशाका सम्भावना र चुनौतीका बिषयमा पनि छलफल भएको थियो । केयूबिकेका पशु बिकास अधिकृत हुमकान्त पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पछिल्लो समय किसानहरु ब्यबसायिक बन्दै गएको बताउनुभएको छ ।
बिगतका दिनहरुमा किसानहरुले निर्बाहमुखी तरिकाले कृषि गरेको बताउदैँ उहाँले अहिले जिल्लाका केही किसानहरुले ब्यबसायिक रुपमा कृषि पेशा गर्दै आएको बताउनुभयो । जिल्लामा केयूबिकेले गरेको कामको प्रशंसा गर्दै उहाँले कृषकहरुको हितमा नगरपालिकाले काम गर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा कृषि बिकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्य, उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउने लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।