सल्यान टुडे,
सल्यान २२, कार्तिक ।
सल्यानका किसानहरुले आफुले उत्पादन गरेको बस्तुले उचित मूल्य नपाएको गुनासो गरेका छन् । धेरै लगानी र परिश्रम गरेर उत्पादन गरेको बस्तुले लगानी अनुकुलको मूल्य नपाएको गुनासो गरेका छन । ब्यापारीले आफु खसी मूल्य निर्धारण गर्दा झन समस्या भएको किसानको भनाई छ ।
जिल्लाको दार्मा गाउपालिकाकी बीउ उत्पादक किसान उसा चन्दले आफुले उत्पादन गरेको बीउले सोचे अनुसारको मूल्य नपाएको गुनासो गर्नुभयो । उहाँले स्थानिय स्तरमा उत्पादन गरिएको गहुँको बीउ, मुलाको बीउ आदीले लगानी र परिश्रम अनुसारको मूल्य नपाएको बताउनुभयो । लगानी धेरै भएपनि मूल्य कम पाउदाँ समस्या भएको उहाँको भनाई छ ।
यस्तै शारदा नगरपालिका ११ मा रहेको हरियाली बाख्रापालन समुहकी सचिब थुमा कवरले पनि आफुहरुले उत्पादन गरेको खसी बोकाले बजार नपाएको बताउनुभयो । एक ब्यापारी संग खसीबोका बिक्री गर्ने भनेर सहमती गरेपनि आबश्यकता अनुसार बिक्री बितरण गर्न नपाएको बताउनुभयो । हामीले समस्या परेको समयमा खसीबोका बितरण गर्न पाएका छैनौँ, ब्यापारीले एकै पटक धेरै खसीबोका भएपछि मात्रै लिन्छ उहाँले भन्नुभयो ।
उहाँहरु त प्रतिनिधि पात्रहरु मात्रै हुनुहुन्छ, किसानका लागी उन्नत बीउ बिजन कार्यक्रम, कार्यक्रम ब्यबस्थापन कार्यालय रुपेन्देहीले हालै सल्यानको श्रीनगरमा आयोजनाको गरेको बीउ, मासु, दूधसँग सम्बन्धीत सरोकारवाला गोष्ठीमा सहभागी किसानहरुले यस्तै गुनासो गरेका छन् । उनीहरुले(KUBK) केयूबिकेबाट प्राप्त सहयोगले कृषिकर्ममा लाग्न मद्धत मिलेपनि अहिले उत्पादन भएको बस्तुले सोचे अनुसारको बजार नपाएको गुनासो गरेका छन ।
कार्यक्रममा बोल्दै कृषि बिकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले कृषकहरुले आफुले उत्पादन गरेको बस्तुको गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले ब्यबसायीक रुपमा उत्पादन सँगै गुणस्तरमा ध्यान दिन सके कृषिजन्य र पशुजन्य बस्तुको बजारीकरणमा कुनै समस्या नआउने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले स्थानिय सरकारले किसान र ब्यापारीलाई अपहेलना गरेको बताउनुभयो । उहाँले कृषिको क्षेत्रमा लगानी नगरेका स्थानिय तहहरुले कृषकहरुको ढाड सेकिने गरि कर लिने, आय स्रोत बृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।