सल्यान टुडे,
सल्यान २३, कार्तिक ।
सल्यानको छत्रेश्वरी गाउपालिकामा सामाजिक सुरक्षा भत्ता अझै बितरण हुन सकेको छैन् । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपांगले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझैसम्म बितरण हुन नसकेको हो । संघीय सरकारले समयमै पठाएको भए पनि गाउपालिकाको ढिलासुस्तीका कारणले उनीहरुले भत्ता पाउँन नसकेका हुन् ।
कार्तिक महिनाको शुरुमा नै पाउनुपर्ने भत्ता हाल सम्म पनि नपाएको उनीहरुको गुणासो छ । रकम निकासा नहुँदा एकल र छुट्टिएर बसेका ज्येष्ठ नागरिकले दैनिकी कसरी चलाउने भन्ने समस्या थपिएको बताउँछन् । गाउपालिकाका ७ वटै वडामा सामाजिक सुरक्षा भत्ता बितरण भएको छैन् ।
छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ का ७० वर्षिय दुर्गा बहादुर खत्रीलाई तिहार अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो । आएको रकमले तिहारमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने लागेको थियो तर गाउपालिकाले सामाजिक भत्ता कार्तिकको अन्तिम साता शुरु हुदाँ पनि नदिए पछि यसपालिको तिहार निकै खल्लो लाग्यो ।
७० वर्षीय खत्री मात्रै होईन् छत्रेश्वरी गाउपालिका भित्रका पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका बृद्धबृद्धा, एकल महिला र असक्त अपागं गरी करिब १ हजार ७ सय जनाले समयमा नै सामाजिक सुरक्षा रकम पाउन सकेका छैनन् । ‘स्थानीय सरकार आएपछि सेवा सुविधा छिटो उपलब्ध हुन्छ भन्ने सोचेको थियौँ । तर, दशैं तिहारमा समेत भत्ता पाउँन छाडियो’ स्थानीय ज्येष्ठ नागरिक कुल बहादुर खत्रीले भन्नुभयो, ‘भत्ताको पैसाले पोषिलो खानेकुरा किनेर खाने सोच थियो, तर भएन ।’
गाउपालिकाले भने सामाजिक सुरक्षा भत्ता बितरण बैँकिङ्ग प्रणालीबाट हुने भएकाले केही ढिला भएको जनाएको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले अघिल्लो चौमासिक देखी गाउपालिकाले सामाजिक सुरक्षा भत्ता लान्तीमा रहेको इन्भेष्टमेन्ट बैँकबाट बितरण गर्न थालेकाले केही समय ढिला भएको जानकारी दिनुभयो ।
‘पहिलो चौमासिक भत्ता कार्तिकको शुरुमा नै बितरण गरिसक्नुपर्ने हो, तर बैँकिङ्ग सिस्टमबाट काम गर्नुपर्ने भएकाले केही ढिला भएको हो’ उहाँले भन्नुभयो । उहाँले अबको सोमबार सम्म सामाजिक सुरक्षा भत्ता बितरण हुने जानकारी दिनुभयो ।