सल्यान २५, कार्तिक ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्रमा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । उहाँले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गर्नुभएको थियो । उहाँको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताउनु भएको थियो । उहाँले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ । प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् ।