सल्ली—चौरजहारी सडकको दुर्दशाः कहिले धुलो, कहिले हिलो !

दुर्गा बिसी, सल्यान टुडे,
सल्यान २६, कार्तिक ।
सल्यानको सल्लीवजार देखी रुकुम चौजहारी सडक खण्डको ट्रयाक खोलेको १५ वर्ष हुदा पनि स्तरोन्नती हुन सकेको छैन् । ट्रयाक खोले सँगै सवारीसाधन सञ्चालनमा आएका थिए । सडकको ट्रयाक खोलेर सवारीसधान सञ्चालनमा आएपछि खुसी बनेका सल्यान, जाजारकोट, रुकुम र डोल्पाका नागरिक अझैसम्म पनि सडकको स्तरोन्नती हुन नसक्दा दुखी बनेका छन् ।


यस सडक खण्डको स्तरोन्नतीका नाममा करोडौँ रुपैँया खर्च भयो तर बालुवामा पानी हाले जस्तै परिवर्तन केही भएन् । बजेट अनुसारको निर्माण व्यवसायीले काम नगर्दा यस सडक खण्डमा दिनहुँ यात्रा गर्ने यात्रुहरु मारमा परेका छन् । बर्षामा हिलाम्मे हुने यस सडक हिउँद लाग्न थालेसँगै धुलाम्मे बन्न थालेको छ । सडकको स्तरोन्ती नहुदाँ सवारीसाधन सञ्चालन गर्न समस्या भएको व्यवसायी खिम वहादुर वुढाले बताउनुभयो । बर्षातमा हिलो र हिउँदमा धुलो र सडकमा बनेका खाल्डाखुल्डीका कारण गाडीहरु छिटो बिग्रने गरेको उहाँको गुणासो छ ।


अत्यन्तै खराव र जोखिमपूर्ण सल्यानको सल्लीवजार देखि रुकुमको चौरजहारी सम्मको ४० किलोमिटर सडकमा यात्रुले ५ सय रुपैँया भाडा तिर्न वाध्य छन् । चर्को भाडा लिनु आफुहरुको वाध्यता यातायात व्यवसायीको भनाई छ । यस सडकको ट्रयाक खोलिएको १५ वर्ष र नेपाली सेनाले बाटो हस्तान्तरण गरेको १० वर्ष बितिसक्दा पनि बाटोको स्तरोन्नती र ब्यबस्थित गर्न तर्फ सरकारले ध्यान नदिएको स्थानियको भनाई छ ।

निर्माण कम्पनीको वेवास्ता र सरोकारवाला पक्षहरुको मौनताका कारण यस सडक खण्डमा निर्माणाधिन पक्की पुल, सडक पिच, ग्रावेल लगाएतको काम अलपत्र परेको छ । बर्षौ बितिसक्दा पनि सडकको स्तरोन्नती नहुदा तथा बर्षाको हिलो र हिउदँको धुलोले स्थानिय सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस