सल्यान टुडे,
सल्यान २९, कार्तिक ।
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आम नागरिकले सूचना माग गरेको समयमा सहज रूपमा उपलब्ध गराउनु पर्ने बताउनुभएको छ । उहाँले प्रशासक र पदको आवरणमा सूचना लुकाएर लोकतन्त्रको उपहास गर्न नहुने भन्दै लोकतान्त्रिक पद्धतिमा पनि यसरी सूचना लुकाउने जो कोहीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभएको हो ।
बिहीबार आज सुचनाको हक सम्बन्धी सल्यानको सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सुचना आयुक्त बाँस्कोटाले हरेक नागरिकले सुचना प्राप्त गर्न पाउनु उसको अधिकार भएको पनि बताउनुभयो । ‘सुचनाको हक प्रवाहको निम्ति राज्य प्रणाली आफैँ जागरुक हुनुपर्छ, यसमा आम नागरिकलाई सजग गराउनु सरकारकै कर्तव्य पनि हो’— उहाँले भन्नुभयो ।
तर सार्वभौम सत्तामा खलल पुग्ने, मद्धा मामिला अनुसन्धान भई रहेको, आर्थिक गम्भिर गोपनियता, जातिय सद्भाव भड्किने र नितान्त व्यक्तिगत सूचना बाहेक अरु सूचना सेवाग्राहीले माग गरेको समयमासीमा भित्र पाउनु पर्नेमा उहाँको जोड थियो । सूचना सार्वजनिक नगर्ने कार्यालय र व्यक्ति भ्रष्टाचारमा लिप्त भएको हुनसक्ने भन्दै उहाँले सार्वजनिक चासोका बिषयमा सूचना सार्वजनिक गर्न जरुरी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले सल्यानमा अझै पनि केही कार्यालयमा सुचनाको हक पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
उहाँले जनतालाइ शुसासनको प्रत्याभुति दिलाउन सुचनाको हक आवश्यक भएपनि स्थानीयले पुर्णरुपमा सुचना पाउनबाट वञ्चित भएको बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा सुचना अधिकारी, पत्रकार, नागरिक समाज लगाएतको सहभागिता रहेको थियो ।