सल्यान टुडे,
सल्यान १, मंसिर ।
सहकारीहरु उत्पादन सँग जोडिनुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले सहकारीको काम बचत गर्ने मात्रै नभएर बचत भएको रकमलाई उत्पादनशिल कार्यमा लगाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।
जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका ४ साहुटोलको शनीबार महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटामा आयोजित २४ औँ बार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका ३ का वडाअध्यक्ष टोप बहादुर थापाले समय सँगै सहकारीहरु पनि परिवर्तन हुनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीले बचत सँगै उत्पादनशिल क्षेत्रमा पनि लगानी गर्न सके दिगो बन्नेमा जोड दिनुभयो । सहकारीमा आबद्ध कोही पनि अब बेरोजगार भएर बस्नु राम्रो होईन्, उहाँले भन्नुभयो अब ब्यबसाय र उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ । आजको बचत भनेको भोलीको साहारा भएको उहाँको भनाई थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य ज्ञान प्रकाश शर्मा र ललिता कुमारी शाक्यलाई सम्मान गरिएको थियो । यस्तै जेष्ठ नागरिक खिम कुमारी सेजवाल र घनश्याम भण्डारी लाई सम्मान गरिएको थियो भने एसईईमा सर्वोत्कृष्ट अंक ल्यााउने प्रमोद शरण गौतम र अस्मिता भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष किशोर हमालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कल्पना सेजवालले गर्नुभएको थियो ।