वडाअध्यक्षबाट राजिनामा दिएर शिक्षकको जागिर

 

बुद्धि पुन, सल्यान टुडे,
सल्यान १, मंसिर ।

सरकारी तथा अन्य क्षेत्रको जागिरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका छौँ र सुनेका पनि छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ । यस्तै घटना सल्यानमा भएको छ । सल्यानका एक जननिर्बाचित वडाअध्यक्षले जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेका छन् ।

जिल्लाको सिद्धकुमाख गाउपालिका ४ का वडाअध्यक्ष दिनेश कुमार बिएमले आफ्नो पदबाट राजीनामा दिएर शिक्षक हुनु भएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा वडाअध्यक्षमा निर्वाचित भएका बिएम राजीनामा दिएर प्राथामिक तहको शिक्षक बन्नुभएको हो ।

बिएम नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्बाचित हुनुभएको थियो । गोलाप्रथाद्धारा बिजयी बन्नु भएका उहाँले प्राथामिक तहको खुल्ला कोटामा मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालिन नेकपा एमालेका उम्मेदवार देबेन्द्र रोका र बिएमले समान ३ सय २१ मत प्राप्त गर्नु भएको थियो । पछि दुबै जनाको सहमतिमा गोलाप्रथा गर्दा बिएम बिजयी हुनुभएको थियो ।

‘वडाअध्यक्षमा न त अधिकार देखियो न सुविधा नै । जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेको हुँ’ राजनैतिक पद छोडेर शिक्षक बन्नुभएका बिएमले भन्नुभयो ‘बरु विद्यालयका विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु । शैक्षिक गुणस्तर सुधारका लागि म सेवा गर्न चाहन्छु ।’

‘म अब राजनीतिमा फर्किन्न होला’, उहाँले भन्नुभयो ‘शिक्षक भएरै समाजसेवा गर्छु ।’ उहाँले गत बुधबार गाउपालिकामा आएर राजिनामा दिनुभएको थियो । सोही दिन गाउ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बिएमको राजिनामा स्वीकृत गर्दै जेष्ठ वडासदस्य बीर बहादुर खड्कालाई कार्यबाहक वडाअध्यक्षको जिम्मेबारी दिईएको गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काले बिहीबार देखी नै कार्यबाहक वडाअध्यक्षको रुपमा काम गर्न थाल्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस