बुद्धि पुन,
सल्यान ८, मंसिर ।
सल्यानमा सिँचाई कुलो निर्माण र कृषि सडक निर्माणमा ७ करोड रुपैँया खर्च गरिदैँ छ । चालु आर्थिक बर्षमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लामा सिँचाई र कृषि सडकमा ७ करोड १० लाख रुपैँया खर्च गर्न लागेको हो । जसमा साना तथा मझौला सिँचाई कुलो निर्माणमा ४ करोड २० लाख र कृषि सडक निर्माणमा २ करोड ९० लाख रुपैँया खर्च गर्न लागिएको हो ।
अर्गानिक कर्णालीको लक्ष्य सहित अगाडी बढेको प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण, ब्यबसायिक र कृषि उपजको बजारीकरण गर्ने तथा गाउँलाई बजारसँग जोड्ने उद्देश्यले सडक निर्माण गर्न लागिएको हो । जस अन्र्तगत चालु आर्थिक बर्षमा जिल्लाका दश स्थानिय तहमा २६ वटा साना तथा मझौला सिँचाई कुलो निर्माण गर्न लागिएको कृषि बिकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सिँचाई तर्फ छत्रेश्वरी गाउपालिकामा ४ वटा योजनाका लागी ६५ लाख, कालीमाटी गाउपालिकामा ४ वटाका लागी ५५ लाख, त्रिबेणी गाउपालिकामा ३ वटा योजनाका लागी ३० लाख रुपैँया बिनियोजन भएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा २ वटाका लागी ६० लाख, दार्मा गाउपालिकामा २ वटाका लागी ५० लाख, कुमाख गाउपालिकामा २ वटाका लागी ३० लाख, सिद्धकुमाख गाउपालिकामा १ वटाका लागी २० लाख, बागचौर नगरपालिकामा २ वटाका लागी ३० लाख, शारदा नगरपालिकामा ३ वटाका लागी ४० लाख र कपुरकोट गाउपालिकामा ३ वटा योजनाका लागी ४० लाख रुपौँया बिनियोजन भएको छ ।
यस्तै जिल्लामा चालु आर्थिक बर्षका लागी २४ वटा कृषि सडक बनाइने भएको छ । जसमा छत्रेश्वरी गाउपालिकामा ४ वटा कृषि सडकको लागी ४० लाख, बित्रेणी गाउपालिकामा २ वटाका लागी २० लाख, कालीमाटी गाउपालिकामा एक वटाका लागी १० लाख, बन्गाड कुपिण्डे नगरपालिकामा ३ वटाका लागी ४० लाख र दार्मा गाउपालिकामा २ वटाका लागी ४५ लाख रुपैँया बिनियोजन गरिएको छ ।
यस्तै कुमाख गाउपालिकामा एक वटाका लागी १० लाख, बागचौर नगरपालिकामा ४ वटाका लागी ४० लाख, शारदा नगरपालिकामा ४ वटाका लागी ४० लाख र कपुरकोट गाउपालिकामा ३ वटा कृषि सडक निर्माणका लागी ३० लाख रुपैँया बिनियोजन भएको छ । यी सिँचाई कुलो तथा ग्रामीण कृषि सडक निर्माण तथा मर्मत सम्भारका लागि कृषि विकास कार्यालयले सम्झौता गर्न शुरु गरिसकेको छ ।
सिँचाई तथा सडक निर्माणमा सम्बन्धित क्षेत्रका लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । कृषि तथा फलफूल खेतीका लागी प्रख्यात मानिएको सल्यानमा गत आर्थिक बर्षमा कृषि सडक निर्माणको लागी ३ करोड ४७ लाख ७८ हजार रुपैँया खर्च भएको थियो ।