लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सिद्धकुमाख गाउपालिकामा पनि शुरु

सल्यान १०, मंसिर ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सल्यानमा पनि शुरु भएको छ । एक कार्यक्रमबीच सिद्धकुमाख गाउपालिकाको आयोजनामा सचेतनामुलक र्याली, प्ले कार्ड र ब्यानरका साथ अभियानको थालनी गरिएको हो ।

गाउपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, निजामति महिला कर्मचारी, लगायतको सहभागितामा कार्यक्रम शुरु भएको हो । गाउपालिकाको कार्यालय देखी शुरु भएको र्याली ढोरचौर बजार परिक्रमा गर्दै गाउपालिका कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । गाउपालिकाले अभियानका क्रममा गाउपालिकामा रहेका सबै वडामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले देशमा बढ्दो लैंगिक हिसाविरुद्धका गतिविधिहरुको अन्त्यका लागि महिला दिदीबहिनी र दाजुभाइ एक जुट हुन आवश्यक रहेको बताउनुभयो । यस्तै गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले महिला दिदिबहिनी समस्या र हिंसामा पर्दा समेत आफ्नो व्यथा कुन ठाउँमा पुगेपछि समाधान हुन्छ भन्ने थाहा नहुँदा समेत महिलाहरु थप समस्यामा पर्ने गरेको भन्दै महिला सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रमका सहभागीहरुले पछिल्लो समय पुरुष हिंसाको घटनासमेत बढेको भन्दै महिला र पुरुष दुवै किसिमका हिंसा रोक्न सचेतनामुलक कार्यक्रमलाई १६ दिन मात्रै नभई वर्षभरी नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष राम बहादुर बस्नेत, प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मी लगाएतको सहभागिता रहेको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस