बुद्धि पुन,
सल्यान ११, मंसिर ।
सल्यान स्थानिय तहहरुले आफूले गरेको खर्चको विवरण बुझाउन सकेका छैनन् । दोस्रो चौमासिक शुरु भएको झण्डै आधा समय सकिए पनि जिल्लाका ९ वटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण बुझाउन नसकेका हुन् । जसले गर्दा अर्को चौमासिकको निकासा लिएर विकास निर्माणको काम गर्नुपर्ने समय टर्न लागेको छ ।
तर पनि जिल्लाका सात गाउपालिका र दुई नगरपालिकाले पहिलो चौमासिकको नै विवरण नबुझाए पछि समस्या भएको हो । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नुपर्ने समयमा उनीहरूले पहिलो चौमासिककै प्रतिवेदन बुझाउन सकेका छैनन् । दश स्थानीय तहमध्ये शारदा नगरपालिका बाहेक अरूले पहिलो चौमासिकको प्रतिवेदन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
पहिलो चौमासिकको प्रतिवेदन बुझाउन नसकेपछि दोस्रोको रकम निकासा गर्न नमिल्ने कार्यालयका सुचना अधिकारी बुद्धिमान बस्नेतले बताए । ‘कार्तिक महिनाको शुरुमा नै पहिलो चौमासिक बुझाउनु पर्ने हो उनले भने, ‘तर एक महिना भन्दा बढी भइसक्दा समेत एक वटा बाहेक अन्यले बुझाउन सकिरहेका छैनन् ।’ पहिलो चौमासिकमा कुन कुन योजनाका लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकका लागि रकम माग गर्नुपर्ने हुन्छ ।
तर प्रतिबेदन नबुझाउदाँ जिल्लाका बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका सँगै कपुरकोट गाउपालिका, त्रिबेणी गाउपालिका, कालीमाटी गाउपलिका, छत्रेश्वरी गाउपालिका, सिद्धकुमाख गाउपालिका, कुमाख गाउपालिका र दार्मा गाउपालिकाको दोस्रो चौमासिक निकासा हुन सकिरहेको छैन् । जिल्लाको कुमाख गाउपालिकाले भने गत बर्षकै समेत प्रतिबेदन बुझाएको छैन् ।
शारदा नगरपालिकाको खर्च १७ प्रतिशत
जिल्लाको शारदा नगरपालिकाले १७ प्रतिशत बजेट खर्च गरेको छ । पहिलो चौमासिकमा नगरपालिकाले १७ प्रतिशत अर्थात ८ करोड, ३८ लाख, ४६ हजार, ४ सय ११ रुपैँया खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ । नगरपालिकामा ४९ करोड, २१लाख १३ हजार ४ सय ६५ रुपैँया बजेट रहेको छ ।