सल्यान ११, मंसिर ।
उपनिर्वाचन बहिस्कारको अभियानमा लागेका ४ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । मसिंर १४ गते शनिबार हुने उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको हो । उनीहरुलाई उपनिर्वाचन हुन लागेको कुमाख गाउपालिका ५ बाट मंगलबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोर्चाका कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणि शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा उपनिर्वाचन बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरूको साथबाट सिपि गजुरेलले हस्ताक्षर गरेको ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय जनगणतन्त्रको दिशामा अघि बढौंँ’ भन्ने नारा लेखिएको पर्चा भेटिएको उहाँले बताउनुभयो।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयले आज बुधवार ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । उनीहरु अहिले प्रहरी हिरासतमा रहेका छन् ।