दुर्गा बिसी,
सल्यान १३, मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकामा अर्गानिक नमुना गाउँ कार्यक्रम लागू हुने भएको छ । अर्गानिक नमुना गाउँ कार्यक्रम निरन्तरता तथा विस्तार सम्बन्धि छलफल तथा सुझाव संकलन कार्यक्रम कृषि विकास निर्दशालय कर्णाली प्रदेश सुर्खेत र सिम्ता गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो । सिम्ताका अगुवा किसानहरुको उपस्थितिमा कार्यक्रम सिम्ताको जामुनेबजारमा भएको थियोे ।
कार्यक्रममा गाउँंपालिका अध्यक्ष कविन्द्र कुमार केसीले सिम्ताको हालको अबस्थाको वारेमा भिडियो सहित तत्कालिन अवस्थाको विषयमा भिडियो प्रस्तुत गरि जानकारी दिनु भएको थियो । यस्तै सिम्ताको किसानको अवस्था र उत्पादन हुने भुमिको अवस्थाको वारेमा अवगत गराउनु भएको थियो ।
सहभागी किसानहरूले अर्गानिक गाउंँको लागि बजारीकरण र बजेटको अभाव भएको समस्या राखेका थिए । कृषि तथा सहकारी मन्त्री विमला केसीले सिम्ता गाउँपालिकामा नमुना कृषि गाउँ बनाउनका लागि मात्र करीब १० करोड रकम विनियोजित गरिएको जनाउँदै आवश्यकता अनुसार थप बजेटको ब्यवस्थापन हुने जनाउनु भएको छ । त्यसैले ढुक्क भएर अर्गानिक उत्पादन तर्फ लाग्न कृषकलाई अग्रह गर्नुभएको छ ।
पछिल्लो समय सुर्खेत सिम्ता गाउँपालिकाका स्थानीय कृषि पेशा प्रती आकर्षित भएका छन् । गाउँपालिकाले समेत किसानमैत्री योजनाहरु सञ्चालन गरेको छ ।