उपनिर्वाचन अपडेट: कुमाख गाउपालिका ५ मा मतदान शुरु, पहिलो मत ‘ज्वाला’ ले खसाले

सल्यान १४, मंसिर ।
सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा मतदान शुरु भएको छ । बिहान करिब सवा सात बजे देखी मतदान शुरु भएको मूख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले मतदान चलिरहेको छ । रिक्त रहेको वडाअध्यक्ष पदका लागी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ ।

सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान केन्द्र क बाट नेकपाका उम्मेदवार धर्मे बुढाथोकी ज्वालाले पहिलो मत खसाल्नु भएको छ । यस्तै मतदान केन्द्र ख बाट मान बहादुर मल्लले पहिलो मत खसाल्नु भएको छ । चिसोका कारण बिहान मतदाताहरुको उपस्थिती कम भएपनि अहिले बिस्तारै मतदान स्थलमा मतदाताहरुको सहभागिता बढ्दै गएको छ ।

मतदान स्थलमा सुरक्षा ब्यबस्था कडा पारिएको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

उपनिर्वाचन भैरहेको कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् । क मतदान केन्द्रमा ९ सय ५२ र ख मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन् । वडा अध्यक्षको लागि भैरहेको निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा, र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस