सल्यान १७, मंसिर ।
सल्यानमा प्रदेश मातहतका कार्यालयको पहिलो चौमासिकको प्रगति विवरण चिन्ताजनक देखिएको छ । प्रथम चौमासिकमा प्रदेश मातहत रहेका कार्यालयले कुल बजेटको १ दशमलव १४ प्रतिशत मात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
चालु आर्थिक वर्षमा सल्यानमा पूजिगत र चालु बजेट गरी १ अर्व ७१ करोड, ३४ लाख ६५ हजार ७ सय रुपैया रहेकोमा १९ करोड ५६ लाख १ हजार १ सय ४६ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी वृद्धिमान बस्नेतले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयको रु.१० करोड ८३ लाख ७८ हजार बजेट मध्ये रु.९६ लाख ५३ हजार ४ सय २ खर्च, उद्योग तथा उपभोक्ता हित कार्यालयको रु.१ करोड ८६ लाख ७९ हजार ७ सय मध्ये २ लाख ६२ हजार ६२ रुपैयाँ, प्रदेश लेखा इकाई कार्यालयको रु.७ लाख ३७ हजार मध्ये ४ लाख ९० हजार १८ रुपैया खर्च भएको छ ।
यस्तै पशु अस्पताल तथा पशु विकास कार्यालयको रु.६ करोड २१ लाख १४ हजार मध्ये रु.२१ लाख ३७ हजार ७ सय २९, खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयको रु.३० करोड १३ लाख ४८ हजार मध्ये रु.५२ लाख ७३ हजार ३ सय २१, सामाजिक विकास कार्यालयको रु.१० करोड ५० लाख ८० हजार मध्ये रु.१ लाख २५ हजार १ सय ९३ र स्वास्थ्य सेवा कार्यालयको रु.१० करोड २९ लाख १५ हजार मात्र रकम खर्च गर्न सफल भएको सूचना अधिकारी बस्नेतले बताउनुभयो ।
कृषि विकास कार्यालयको रु.१४ करोड ६८ लाख ५ हजार र पूर्वाधार विकास कार्यालयको ७४ करोड ४० लाख ९ हजार रुपैयाँ खर्च हुन सकेको छैन् । जिल्लाका १० स्थानीय तहहरुले पनि प्रदेशले पठाएको पुजिगत बजेट खर्च गर्न सकेका छैनन् । ३ नगरपालिका र ७ गाउँपालिकाका लागि प्रदेशले रु.१२ करोड ३४ लाख बजेट पठाएको थियो जसमा कुनै पनि तहले खर्च गर्न सकेका छैनन् ।