सल्यानमा बर्षेनी बढ्दै मानसिक रोगी,

सल्यान २४, मंसिर ।
सल्यान जिल्लामा बर्षेनी मानसिक रोगी बढ्दै गएका छन् । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जिल्लामा मानसिक रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिन थालेको जिल्ला अस्पताल सल्यानले जनाएको छ । जिल्लामा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढदै गएको मानसिक रोगका क्षेत्रमा जिल्लामा क्रियाशील मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले जनाएको छ ।

सीएमसी नेपालका कार्य समिती सदस्य बिष्णुभक्त कवानले सल्यान जिल्लामा मानसिक रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिन थालेको जानकारी दिनुभयो । मानसिक रोग उपचारमा ध्यान दिए निको हुने र उपचारका लागि रोग लुकाउने प्रवृत्ति बाधक बनेको उहाँको भनाई छ ।


सोमबार सल्यान खलंगामा पत्रकारहरु सँग छलफल गर्दै उहाँले जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका कारणले मानसिक रोगीको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले जिल्लाको पछिल्लो तथ्यांक हेर्दा पनि जिल्लामा मानसिक रोगीको संख्या बढेको बताउनुभयो ।

जिल्लामा अहिले सम्म १ हजार ३ सय २९ जना मानसिक रोगी रहेका छन् । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूको तथ्यांक अनुसार सन २०१६ मा ३ सय ५७ जना, सन २०१७ मा २ सय ९० जना र सन २०१८ मा ६ सय ५२ जना रहेका छन् । मानसिक रोगको समस्या भएका ती नागरिकहरू अहिले पनि परामर्शमा रहेका छन् ।

सिएमसि नेपालले सल्यानका ५ स्थानमा रहेको स्थास्थ्य संस्थाहरुमा रहेर काम गरिरहेको छ । भने मानसिक रोगीलाई निःशुल्क परामर्श तथा नियमित उपचार सेवा प्रदान गर्दै आएको छ । जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले स्वास्थ्यकर्मीहरूसँगको परामर्शमा रहेका व्यक्तिबाहेक थुप्रै व्यक्तिमा रोग लुकाउने प्रवृत्तिका कारण यो समस्या बढी हुन सक्ने जानकारी दिनुभयो ।

सिएमसि नेपालका बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रमका जिल्ला सुपरभाईजर लोक बहादुर बिकले मानसिक रोगको समयमै उपचार गर्न सकिए जटिल स्वास्थ्य समस्या नदेखिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस