सल्यान २५, मंसिर ।
सबै खाले हिंसा न्युनिकरण गर्दै समानताको समाज निर्माण गर्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा सल्यानको खलंगामा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले यस नगरपालिकालाइ सबैखाले हिंसामुक्त बनाउन सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो । लैंङ्गिक हिंसालाइ न्युनिकरण गर्न स्थानीय स्तरमा लुकेर बसेका घटनाहरुलाइ उजागर गर्नुपर्ने उहाँको जोड थियो । उहाँले गाउँघरमा लुकेर बसेका घटनाहरुलाइ स्थानीयले उजागर गर्दै सम्बन्धित निकायसम्म ल्याउन आवश्यक रहेको बताउनु भयो ।
शारदा नगरपालिका –२ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठले लैंङ्गिक हिंसाबाट निम्तिने घटनाबारे सबैलाइ सचेत बनाउनु पर्ने बताउनु भयो । उहाँले वडा भित्र पीडित अवस्थामा रहेकाहरुको पक्षमा स्थानीय तह सधैं लागी परेको बताउनु भयो । हिंसा प्रभावित महिला वा बालबालिकाको लागी औषधी उपचार तथा कानुनी सेवा निशुल्क रुपमा प्रदान गरिने उहाँले बताउनु भयो ।
अधिकारकर्मी विष्णु शर्माले पहिलेको तुलनामा अहिले महिलाहरुमा चेतना विस्तार भएको बताउनु भयो । उहाँले अहिले आफनो अधिकारका सवालमा केहीले आवाज उठाएपनि अझैपनि महिलाहरु हिसां सहनु परि रहेको बताउनु भयो । पत्रकार महासंघ सल्यानका सल्लाहकार सनत शर्माले लैंङ्गिक हिंसाबाट पुरुषहरुपनि पीडित भएको बताउनु भयो । उहाँले यस विषयमा पनि अधिकारको आवाज उठाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
रेस नेपाल सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले मानवअधिकारका क्षेत्रमा सबैले चासो राख्नुपर्ने बताउँदै सबैले सबैको अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।
शारदा नगरपालिकाको आयोजना तथा इन्सेक नेपाल सल्यान, रेस सल्यान, हरप्लेस सल्यानको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय महिला, पत्रकार, जनप्रतिनिधी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतनिधि मिना बुढाथोकीले गर्नु भएको थियो ।
यसैबिच
सुर्खेतको सिम्ता गाउँपालिकामा पनि लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि १६ दिने अभियान कार्यक्रम सकिएको छ । सिम्ता गाउंँपालिका महिला तथा बालबालिका कार्यालयको आयोजनामा समानताको पुस्ता, बलात्कार विरूद्धको ऐक्यबद्धता भन्ने मुल नाराका अभियानको समापन गरिएको हो । सो अबशरमा गाउपालिकाका ९ वटै वडामा कार्यक्रम गरिएको थियो । सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।