दलित सेवा संघ सल्यानको १३ औँ बार्षिक साधारण सभा

सल्यान ११, पौष ।
दलित सेवा संघ सल्यानको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको शारदा नगरपालिका ६ वरलामा बिहीबार १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । दलित सेवा संघ सल्यानका अध्यक्ष दिल बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका सदस्य सुस्मीता सुनारले दलित मुक्ति र दलित सवाल राजनितिक दलको मुद्धा मात्र हुने गरेको बताउनुभयो ।

उहाँले दलित समुदायको विकासको लागी जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने सवालमा अझै सरोकारवालाहरुले ध्यान नदिएको बताउनुभयो । संबिधानमा बिभेदमुक्त अधिकारको ब्यबस्था भएपनि कार्यन्वयनमा राजनितिक दलले चासो नदिएको गुनासो उहाँले गर्नुभयो । यसका लागी राजनितिक दलहरुले पनि पहल गर्नुपर्ने उहाँको भनाई छ । उहाँले तीन वटै तहका सरकारले दलितमुखी बजेट विनियोजित गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा दलित सेवा संघ सल्यानका सदस्य भिम बहादुर परियारले संस्थागत प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाको आर्थिक प्रगती प्रतिवेदन संस्थाका लेखा प्रशासन सिर्जना नेपालीले ३५ लाख ८६ हजार ८ सय ३९ रुपैँयाको आयब्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कुमाख गाउपालिका कार्यपालिका सदस्य मान बहादुर परियार, शारदा नगरपालिका वडा नं ६ का सदस्य भगवती परियार, दलित महिला बहुउदेश्य कृर्षि सहकारी संस्थाका अध्यक्ष अनिता विक, संस्थाका सहसचिव प्रकाश परियार, बरिष्ठ सदस्य कर्ण बहादुर सुनार, धन बहादुर विक, यज्ञ कुमार विक, भिम बहादुर परियार लगाएतको सहभागिता रहेको थियो ।

संघका उपाध्यक्ष मान बहादुर परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव धन बहादुर परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस