बुद्धि पुन,
सल्यान १३, पुस ।
सल्यानमा बिषादी परिक्षण प्रयोगशाला स्थापना गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाको कपुरकोट गाउपालिका ३ कपुरकोटमा बिषादी परिक्षण प्रयोगशाला स्थापना गर्न लागिएको हो । जसको लागी गत आर्थिक बर्ष २०७५।०७६ को बजेट बाट कपुरकोटमा बिषादी परिक्षण प्रयोगशाला भवन निर्माण गरिएको छ ।
प्रदेश सरकारको करिब ३८ लाख रुपैँयामा भवन निर्माण गरिएको छ । कृर्षि उपज बजार सञ्चालक समिती कपुरकोटले ३८ लाख ८२ हजार ७१ रुपैँयामा बिषादी प्रयोगशाला भवन निर्माण गरेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले गत आर्थिक बर्षमा भवन निर्माण गरिएको र यस बर्ष देखी सञ्चालनमा आउने जानकारी दिनुभयो ।
‘करोडौँको तरकारी उत्पादन हुने सल्यानमा प्रदेश सरकारले बिषादी परिक्षण प्रयोगशाला निर्माण गरेको छ, यस बर्षको बैशाख—जेठ सम्म सञ्चालनमा आउने सम्भावना छ’— उहाँले भन्नुभयो । प्रयोगशालामा किसानले उत्पादन गरेको कृर्षिजन्य बस्तुमा विषादीको परिमाण कति छ भन्ने जाँच हुने छ ।
बिगतमा जिल्लामा विषादी प्रयोगशाला नहुँदा समस्या हुने गरेको थियो । ‘अब जिल्लामा भित्रिने र बाहिरिने सबै कृर्षिजन्य बस्तुको परिक्षण हुने छ, यसले गर्दा बिषादीको मात्रा थाहा हुन्छ र उपभोक्ताको स्वास्थ्यमा कस्तो असर गर्छ भनेर पनि थाहा हुन्छ’— उहाँले भन्नुभयो । प्रयोगशाला स्थापनासँगै किसानमा विषादी प्रयोगको बारेमा सचेतना आउने र उपभोक्ताले विषादी रहित तरकारी उपभोग गर्न पाउने उहाँको बिश्वास छ ।
जिल्लाको कपुरकोट क्षेत्रबाट मात्रै बर्षेनी करिब २५ करोड रुपैँया बराबरको तरकारी तथा फलफूल निकासी हुन्छ । जिल्लामा नै कृर्षिजन्य बस्तुको बिषादी परिक्षण गरिदा किसानले उत्पादन गरेको बस्तुले बजार राम्रो पाउने र उपभोक्ताले पनि बिषादी रहित ताजा बस्तु उपभोग गर्न पाउने कृर्षि उपज बजार सञ्चालक समिती कपुरकोटका सचिब तिलक शर्माले बताउनुभयो ।
उहाँले यस प्रयोगशालामा बाली, बिषादी र माटो परिक्षण गरिने बताउनुभयो । ‘प्रदेश सरकारको बजेट बाट हामीले भवन निर्माण गरेका छौँ, सरकारको समन्वयमा एकिकृत प्रयोगशाला सुर्खेतले आबश्यक पर्ने सबै औजार उपकरणको ब्यबस्थापन गर्छ, केही दिन अगाडी मात्रै सुर्खेतबाट टोली आएर अनुगमण गरेर गएको छ’— उहाँले भन्नुभयो । उहाँले यस प्रयोगशालाबाट सल्यान सहित कर्णाली प्रदेशको केही क्षेत्र र प्रदेश नम्बर ५ को केही क्षेत्र समेटिने बताउनुभयो ।
‘कपुरकोट क्षेत्र सम्भावनाको खानी हो, यहाँ बेमौषमी ताजा तरकारी उत्पादन हुन्छ, अहिले पनि यस क्षेत्रमा उत्पादन भैरहेको तरकारी देशका बिभिन्न शहरका साथै भारतको लखनउ सम्म जाने गर्दछ, जिल्लामा नै बिषादी परिक्षण प्रयोगशाला स्थापना भएर बिषादी जाँच गर्न शुरु भएमा बिषादी रहित सल्यानको तरकारीले बजार र मूल्य राम्रो पाउँछ’— उहाँले भन्नुभयो ।
जिल्लाका नै बिषादी परिक्षण प्रयोगशाला स्थापना भएपछि उत्पादित बस्तुले राम्रो बजार पाउने भन्दै किसान र बिषादी रहित बस्तु उपभोग गर्न पाईने भन्दै उपभोक्ताहरु खुसी भएका छन् । विषादी भएका तरकारी र खाद्यन्न प्रयोगले क्यान्सर, श्वासप्रश्वासमा समस्या, स्नायुजन्य रोगलगायत जटिल रोग लाग्ने गर्दछ ।