सल्यानका स्थानीय तहः भ्रमण बर्ष लक्षित कार्यक्रम शून्य

बुद्धि पुन
सल्यान १४, पुस ।
सल्यानमा नेपाल भ्रमण बर्ष २०२० लक्षित कार्यक्रम नभएको पाईएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० शुरू हुन अब केही दिन मात्रै बाँकी रहदा पनि जिल्लाका स्थानीय तहहरूले भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालन गर्न नसकेको पाईएको हो । धार्मिक तथा पर्यटकिय हिसावले महत्वपूर्ण मानिएको जिल्लामा भ्रमण बर्ष लक्षित कार्यक्रम नहुनु दुःखको कुरा हो ।

तीन नगरपालिका र सात गाउपालिका रहेको सल्यानमा स्थानीय तहले ठोस कार्यक्रम सार्वजानिक गरेका छैनन् । पर्यटकीय क्षेत्रको प्रचार प्रसार, विकास र प्रवद्र्धनमा स्थानीय सरकारले चासो नदिएको सरोकारवालाहरूको भनाइ छ । जिल्लामा पर्यटकहरुलाई आकर्षण गर्ने प्रशस्त पुरातात्विक तथा ऐतिहासिक स्थल रहेका छन् ।

स्थानिय तहले भौतिक पूर्वाधारलाई प्राथामिकता दिएपनि भ्रमण बर्षलाई लक्षित गरेर कार्यक्रम तय गरेका छैनन् । केही स्थानिय तहले पर्यटन प्रर्बद्धनका लागी भनेर पर्यटकिय क्षेत्रमा केही बजेट विनियोजन गरेका छन् । तर पनि त्यो बजेट प्रर्याप्त नभएको स्थानियको भनाई छ । जिलामा रहेका पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटक मध्ये कति आन्तरिक, कति बाह्य भनेर जिल्लामा तथ्यांङ्क समेत छैन् ।


सरकारले सार्वजनिक गरेको सय पर्यटकिय गन्तब्यमा पर्ने कुपिण्डे ताल बन्गाड कुपिण्डे नगरपालिकामा पर्छ । नगरपालिकाले भ्रमण बर्षका लागि छुट्टै कुनै कार्यक्रम राखेको छैन । बर्षमा तीन पटक रंग फर्ने कुपिण्डे ताल लगाएतका पर्यटकिय स्थलहरु नगरपालिकामा भएपनि भ्रमण बर्ष लक्षित कार्यक्रम तय नभएको नगरप्रमुख गोबिन्द कुमार पुनले बताउनुभयो । ‘हाम्रो नगरपालिकामा छुट्टै कुनै कार्यक्रम छैन’ उहाँले भन्नुभयो ‘पर्यटकिय गन्तब्यहरु त धेरै छन् ।’

शारदा नगरपालिकामा प्रसिद्ध खैरावाङ्ग भुवनेश्वरी मन्दिर पर्दछ । तर शारदा नगरपालिकाले पनि ठोस कार्यक्रम केहि राखेको छैन । ‘अहिले सम्म भ्रमण बर्ष लक्षित यो कार्यक्रम गर्ने भनेर तय भएको छैन, तर भ्रमण बर्षमा हाम्रा केहि कार्यक्रम हुनेछन्’ नगर उपप्रमुख साबित्रा बस्नेतले भन्नुभयो ‘कुन कुन कार्यक्रम गर्ने भनेर तय भएको छैन्, हामी यस बिषयमा छलफल गर्छौ ।’

कुमाख लेक र सिद्ध गुफा सिद्धकुमाख गाउपालिकामा पर्दछ । यस गाउपालिकाले पनि भ्रमण बर्ष लक्षित ठोस योजना बनाएको छैन् । गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले यस बिषयमा सरोकारवालाहरु सँग छलफल गरेर कार्यक्रम तय गरिने बताउनुभयो ।

पशुवली नचढ्ने छत्रेश्वरी शक्तिपिठ, जथाक लेक, चाँदनी साततले गुफा लगाएतका पर्यटकिय क्षेत्रहरु छत्रेश्वरी गाउपालिकामा पर्दछन् भने कालीमाटी गाउपालिकामा कछुवा दह, लक्ष्मीपुर शक्तिपिठ लगाएतका पर्यटकिय स्थल छन् । यस्तै त्रिबेणी गाउपालिकामा फलावाङ्ग दरबार र त्रिबेणी तिर्थशाला धाम, बागचौर नगरपालिकामा शिव गुफा र निर्माणाधिन अग्ला टाकुरा भ्यू टावर र दार्मा गाउपालिकामा मालिका लेक लगाएतका पर्यटकिय स्थलहरु रहेका छन् ।

भ्रमण बर्षमा घुम्न आउने पर्यटकलाई स्थानीय तहमा पूर्वाधार समेत अभाव देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले भ्रमण बर्षलाई बेवास्ता गर्दा पर्यटकीय क्षेत्रमा जाने पूर्वधार समेत जोखिमयुक्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस