सिम्तामा सुत्केरीलाई पोषणयुक्त कोसेली वितरण

दुर्गा बिसी

बन्गाड कुपिण्डे १५, पौष ।

सुर्खेतको सिम्ता गाउँपालिकाले सुत्केरी आमाहरुलाई पोषणयुक्त कोसेली बितरण गरेको छ । सुत्केरी आमालाई उपाध्यक्षको कोसेली स्वरुप पोषणयुक्त खानेकुरा र सरसफाइ जन्य समान वितरण गरिएको हो । सिम्ता गाउँपालिका भित्रका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्धेश्यका साथ जनतासँग सिम्ता गाउंँपालिका कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्ष २०७६।०७७ मा उपाध्यक्ष कोसेली कार्यक्रमका लागि प्रारम्भिक चरणमा ५ लाख रुपैँया विनियोजन गरेको थियो ।

 

 

 

 

 

 

गाउँपालिकाको सबै वडाहरुमा सुत्केरी पोषण र सरसफाइ जन्यसमान वितरण हुने छन् । सोही अन्र्तगत आज सिम्ताका ८० जना सुत्केरी आमालाई सिम्ताको राकम स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली वितरण गरि उपाध्यक्ष चन्द्रकला शाहीले कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ । कोसेलीमा अण्डा, फलफूल, पोषणयुक्त खानेकुरा र सरसफाइका समानहरू राखिएको छ ।

कुनै पनि सुत्केरी आमा र वच्चा खानपान र सरसफाइबाट वञ्चित नहुन भन्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष शाहीले बताउनुभयो । साउन महिना यता सुत्केरी भएका सबै आमाहरुले यो कार्यक्रमबाट लाभ लिने उहाँको भनाई छ । कोसेली कार्यक्रम वितरणसंगै प्रदेश सरकारले पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रतिसुत्केरी रू २ हजार नगद पनि वितरण गरिएको छ । सिम्ता गाउंँपालिका ६ का वडाअध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस