सल्यानमा भ्रमण बर्षः बागचौर, सिद्धकुमाख र कुमाखमा मात्रै शुरु

बुद्धि पुन,
सल्यान १६ पुस ।
नेपाल भ्रमण बर्ष २०२० लक्षित कार्यक्रम सञ्चालन नहुदाँ सल्यान सुनसान बनेको छ । नेपाल सरकारले धुमधामका साथ भ्रमण बर्ष लक्षित कार्यक्रम देशभर सञ्चालन गरेपनि सल्यान भने सुनसान बनेको हो । जिल्लाका स्थानिय तहहरुले भ्रमण बर्ष लक्षित कार्यक्रम सञ्चालन नगर्दा पर्यटन प्रर्बद्धन र प्रचारप्रसारमा ध्यान नदिएका जिल्लाबासीको बुझाई छ ।

अहिले जिल्लाभर नेपाल भ्रमण बर्षको धुमधामका साथ शुरुवात हुनुपर्ने हो । तर स्थानिय तह देखी सरोकारवाला निकायहरु समेत मौन बनेका छन् । जिल्लामा तीन नगरपालिका र सात गाउपालिका गरेर दश स्थानिय तहहरु रहेका छन् । जसमा तीन स्थानिय तहहरुले मात्रै भ्रमण बर्षको शुरुवात गरेका छन् भने बाँकी सात स्थानिय तह सुनसान बनेका छन ।

कुपिण्डे ताल पर्ने बन्गाड कुपिण्डे नगरपालिका, खैरावांङ मन्दिर पर्ने शारदा नगरपालिकाले भ्रमण बर्षको शुरुवातको दिनमा पनि केही कार्यक्रम सञ्चालन गरेका छैनन् । छत्रेश्वरी, त्रिबेणी, कपुरकोट, दार्मा र कालीमाटी गाउपालिकाले पनि भ्रमण बर्ष लक्षित कार्यक्रमको शुरुवात गरेनन् ।

स्थानिय तहले भ्रमण बर्ष लक्षित कार्यक्रम सञ्चालन नगर्दा पर्यटन प्रर्बद्धनमा स्थानिय तहको चासो कम भएको स्थानियको आँकलन छ । त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले नेपाल भ्रमण बर्षलाई लक्षित गरेर गाउपालिकाले अबको केही दिनमा लोक संस्कृतिको प्रस्तुती राख्ने बताउनुभयो । उहाँले सरोकारवाला सबैको उपस्थितीमा करिलेचौरमा बृहत कार्यक्रमको आयोजना गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।


तीन स्थानिय तहमा भ्रमण बर्षको शुरुवात
जिल्लाको बागचौर नगरपालिका, सिद्धकुमाख गाउपालिका र कुमाख गाउपालिकाले मात्रै भ्रमण बर्षको आज देखी बिधिवत रुपमा सुरुवात गरेका छन् । कृषि र पर्यटनलाई जोडेर बागचौर नगरपालिकाले वडा नम्बर ८ र ९ बाट भ्रमण बर्षको शुरुवात गरेको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले बर्षेनी २० करोड बढीको सुन्तला उत्पादन हुने कोटमौलाबाट भ्रमण बर्षको शुरुवात गरिएको बताउनुभयो । “कृषि र पर्यटनलाई सँगै जोडेर अगाडी बढ्ने नगरपालिकाको योजना छ” उहाँले भन्नुभयो “सरकारले घोषणा गरेको भ्रमण बर्षलाई सफल पार्न नगरपालिकाले पर्यटन लक्षित कार्यक्रम गर्ने छ ।”

यस्तै सिद्धकुमाख गाउपालिकाले पनि सिद्ध गुफा सँगै कुमाख लेकमा पुगेर भ्रमण बर्षको शुरुवात गरेको छ । जनप्रतिनिधि तथा कर्मचारी र सरोकारवालाहरुको सहभागितामा सिद्ध गुफाको अवलोकन र कुमाख लेकमा पुगेर भ्रमण बर्षको शुरुवात गरिएको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो । उहाँले सिद्धकुमाखका पर्यटकिय क्षेत्रहरुमा घुम्न पर्यटकहरुलाई आग्रह गर्दै पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा गाउपालिकाले बिशेष जोड दिने बताउनुभयो ।


यस्तै कुमाख गाउपालिकाले पनि भ्रमण बर्षको शुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज जैसी लगाएतको उपस्थितीमा कुमाख लेकमा राष्ट्रिय झण्डा फहराउदैँ कुमाख घुम्नको लागी गाउपालिकाले पर्यटकहरुलाई निम्तो दिएको छ ।

प्रतिक्रिया दिनुहोस