सल्यान १७, पौष ।
सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ स्यानिखाल निवासी मानसिक सन्तुलन गुमेका ४४ बर्षिय देव बहादुर बुढामगरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाई खिया लागेको बन्दुकसहित पक्राउ गरिएको छ ।
मानसिक सन्तुलन गुमेका उनले बुधबार बिहान घरमा आफ्नै नातिनीको ज्यान लिन खोजेपछि जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले आज बिहीबार जानकारी दिनुभयो ।
फाईल फोटो
“परिवारका सदस्यहरुको ज्यान लिने तथा कुटपिटको प्रयास गरेपछि राती २ बजे प्रहरीलाई फोन आयो, प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो” उहाँले भन्नुभयो “सोही क्रममा भकारीमा लुकाएर राखेको भरुवा बन्दुक निकालेर आँगनमा फाले, हामीले बन्दुक सहित बुढालाई नियन्त्रणमा लिएका हौँ ।”
परिवारका अनुसार उनको १० वर्ष अघिदेखि मानसिक सन्तुलन गुमेको थियो । सुधार केन्द्रमा राखेपछि पछिल्लो समय घरमा ल्याईएको थियो । तर अहिले फेरी उनको सन्तुलन गुमेको परिवारको भनाई छ । उनको अहिले सल्यान अस्पतालमा उपचार भैरहेको छ । उनको उपचार पश्चात आबश्यक अनुसन्धान गरेर कानुनी कारबाही गर्ने प्रहरीले बताएको छ ।