सल्यानमा १४ बर्षमा ४३ झोलुंगे पुल निर्माण

बुद्धि पुन
सल्यान २०, पुस ।
सल्यानमा ४३ वटा झोलुंगे पुल निर्माण गरिएको छ । आर्थिक बर्ष २०६२।०६३ देखी हाल सम्म जिल्लाभरमा ४३ वटा झोलुंगे पुल निर्माण गरिएको हो । जसमा करिब १५ करोड रुपैँया खर्च भएको छ । सल्यान चालु आर्थिक वर्ष २०७६।०७७ मा छ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको शारदा नेपाल सल्यानले जनाएको छ ।

कालिमाटी गाउँपालिका ४ जमुतारा, ५ को बालुवा, ७ को काप्रेचौर खप्परेखोला, शारदा नगरपालिका १५ को चुरेढुंगा र बनगाड कुपिन्डे नगरपालिको ढोरपिपलमा पुल निर्माण सम्पन्न भएको शारदा संस्थाका जिल्ला कार्यक्रम संयोजक रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा थप १३ स्थानको लागि डिपिआर भई काम सुरु भएको छ ।


‘हामीले शारदा नदी र अन्य खोलाहरुमा गरेर हाल सम्म ४३ वटा झोलुंगे पुल निर्माण गरेका छौँ, यस बर्ष मात्रै ६ वटा पुल निर्माण भएका छन्,’ उहाँले भन्नुभयो ‘चालु आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी १३ वटा पुलको डिपिआर भई काम अघि बढाइएको छ ।’ उहाँले जिर्ण अबस्थामा रहेका ८ वटा झोलुंगे पुलको मर्मत गरिएको पनि जानकारी दिनुभयो ।

‘डोरीबाट खोला पार गर्ने, जीर्ण पुलहरुबाट खोला पार गर्ने स्थानियको बाध्यतालाई हटाउन पुल निर्माण गरिएको हो, यसले गर्दा अब बर्षायाममा जोखिम मोलेर स्थानियले खोला वारपार गर्नुपर्ने बाध्यता हटेको छ’ उहाँले भन्नुभयो । संघीय सरकारको ९२ प्रतिशत, स्थानीय नगर, गाउँपालिकाको ६ प्रतिशत र उपभोक्ताको श्रमदान २ प्रतिशतको लागतमा पुल निर्माण हुने गरेको भण्डारीले बताउनुभयो ।


बर्षौ देखी जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानियहरु झोलुंगे पुल निर्माण भएपछि खुसी भएका छन् । कालिमाटी गाउँपालिका ४ जमुताराका अमरबहादुर थापाले शारदा नदिमा पुल निर्माणपछि वारपार गर्न निकै सहज भएको बताउनुभयो । ‘पुल नहुँदा घुमाउरो र जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो’ उहाँले भन्नुभयो ‘अहिले समयको बचत देखि सहजरुपमा आवात जावत गरिरहेका छौँ ।’ पुलकै कारण बालबालिकाको पठनपाठन नियमित बनेको छ भने सामान ढुवानी र स्थानियलाई वारपार गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस