सल्यानमा अदुवा प्रशोधन केन्द्र सञ्चालनको लागी भवन निर्माण

बुद्धि पुन,
सल्यान २१, पौष ।
सल्यानमा अदुवा प्रशोधन केन्द्र सञ्चालनको लागी तयारी थालिएको छ । जसको लागी गत आर्थिक बर्ष २०७५।०७६ को बजेटबाट प्रशोधन भवन निर्माण गरिएको छ । किसानको माग र स्थानिय आबश्यकतालाई आत्मसाथ गर्दै जिल्लाको सिद्धकुमाख गाउपालिका ३ ढोरचौरमा प्रशोधन केन्द्र सञ्चालनका लागी भवन निर्माण गरिएको हो ।

अदुवा उत्पादन हुने शारदा नगरपालिकाको माल्नेटा ढारखानी र अन्य क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर अदुवा प्रशोधन केन्द्र सञ्चालनको तयारी थालिएको छ । हालसम्म जिल्लामा उत्पादित अदुवा प्रशोधन बिना नै बिक्री भैरहेको छ भने केही किसानले अदुवालाई ‘सुठो’ बनाएर पनि बिक्री गर्दै आएका छन् । कुल रु ७२ लाख बजेट खर्च गरेर भवन निर्माण गरिएको छ ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्ष २०७५।०७६ को रु. ६० लाख र स्थानिय उपभोक्ताको रु. १२ लाख गरेर ७२ लाख रुपैँयामा भवन निर्माण गरिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष मनबिर बस्नेतले जानकारी दिनुभयो । प्रशोधन केन्द्र सञ्चालनका लागी भवन, हल लगाएतका संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । ‘जिल्लामा उत्पादन भएको अदुवा प्रशोधन बिना नै निर्यात हुदाँ मूल्य कम पाउँछ, यसले किसानलाई समस्या भएको छ, अब जिल्लामा नै प्रशोधन गरेर पठाउदाँ बजार राम्रो पाउने अपेक्षा गरिएको छ’— उहाँले भन्नुभयो ।


सल्यान सहित रुकुम, रोल्पा लगाएतका छिमेकी जिल्लामा उत्पादन भएको अदुवा यस केन्द्रमा प्रशोधन गरिने छ । प्रशोधन केन्द्र सञ्चालनका लागी प्रदेश सरकारले यस बर्ष बजेट विनियोजन गरेको छ । यस प्रशोधन केन्द्रबाट १ हजार ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

यस्तै शारदा नगरपालिका ६ बरलामा पनि प्रशोधन केन्द्र सञ्चालनको लागी भवन निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकार र कजेरी कृषि सहकारी संस्थाको साझेदारीमा रु. ३१ लाखमा भवन निर्माण गरिएको छ । यस केन्द्रले अदुवा वालीमा पर्ने बेसार प्रशोधन लगाएतका काम गर्ने बुझिएको छ ।

थोरै लगाीमा पनि मनग्य आम्दानी हुने भए पछि अहिले यहाँ अदुवा खेती गर्ने कृषकहरुको संख्या पनि बढ्दै गएको छ । माल्नेटा ढारखानीमा रेशाबिहिन बोसे अदुवा उत्पादन हुदैँ आएको छ । यस बर्ष सल्यानबाट ७० करोड बढीको अदुवा उत्पादन भएको छ । अदुवा बिक्रीबाट सल्यानमा ७० करोड ९५ लाख रुपैयाँ बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस