माघ ४ गते कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा हुदैँ

सल्यान २३, पौष ।
कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । देश कै पहिलो प्रदेशका रुपमा यही माघ ४ गते बेसहारा, अशक्त, असहाय, अभिभावक बिहिन सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्न लागिएको हो । यसका लागी अहिले बिभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।

बुधबार सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्दै मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना ओलीले कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्नको लागी अहिले कर्णालीका बिभिन्न जिल्लाहरुमा सरोकारवालाहरु संग अन्र्तक्रिया गर्दै आएको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको पहलमा सडक मानवमुक्त प्रदेश घोषणा गर्न लागिएको हो ।

फाईल फोटो
संरक्षण बिहिन भई तथा स्वयम् आफ्नो लागी केही गर्न नसक्ने अबस्थामा पुगेका खुल्ला आकाशमूनी रात बिताउन बाध्य बेसहारा र एक गाँस भोजन तथा एकसरो कपडाको अभावमा मागेर गुजारा चलाईरहेका वा मागेर समेत गुजारा चलाउन नसक्ने अबस्थामा रहेकाहरुलाई मानव सेवा आश्रममा राखिने छ । कार्यक्रममा जिल्लामा पनि त्यस्ता खालका सहयोगापेक्षी सडकमानव भएमा उद्धार गरेर मानवियता देखाउन आग्रह गरिएको थियो ।

कार्यक्रममा बोल्दै सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले अहिले सम्म प्रहरीको सम्पर्कमा ५ जना सहयोगापेक्षी सडक मानव रहेको बताउनुभएको थियो । मानसिक रुपमा समस्या भएका खलंगा, श्रीनगर र लुहाममा गरेर ५ जना रहेको जानकारी दिनुभएको थियो ।

जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी निम बहादुर वली, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा लगाएतकाले बोल्नुभएको थियो । सामाजिक बिकास मन्त्रालयका अधिकृत यशोधर शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डम्बर रोकायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस