बुद्धि पुन,
सल्यान २४, पौष ।
सल्यानमा छाउपडी गोठ भत्काईएको छ । जिल्लाको बागचौर नगरपालिका २ नयाँ बस्तीमा निर्माण गरि पहिले प्रयोग भएका तर अहिले अन्य प्रयोजनमा प्रयोग भएका छाउगोठ भत्काईएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । केही दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालयले जिल्लामा अहिलेसम्म छाउगोठ नभएको र भएको पाईएमा हटाउने बताएको थियो । महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने प्रशासन कार्यालयको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जिल्लामा अहिले सम्म छाउगोठ नभएको बताउनुभयो । बागचौरमा पहिले निर्माण गरिएका तर अहिले प्रयोग नगरिएका छाउगोठहरु भत्किाईको उहाँले बताउनुभयो । प्रहरीको सक्रियतामा केही दिन अगाडी मात्रै स्वयम् घरधनीले नै ती गोठहरु भत्काएका हुन् ।
गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रहेका छाउगोठलाई नष्ट गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि यहाँको प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने जनाएको छ । ‘प्रशासनले जनप्रतिनिधि देखी लिएर बिभिन्न सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गर्दै आएको छ तर अहिले सम्म जिल्लामा छाउगोठमा बस्ने गरेको पाईएको छ्रैन्’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो ‘यदी अहिले पनि त्यसो भएको पाईएमा न्यनिकरणको लागी सबै निकाय एक भएर लाग्छौँ ।’
तस्वीर : फाईल
महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्थाका कारण महिला बलात्कार र हिंसाको शिकार हुने भएका कारण पनि त्यसको रोकथामका लागि सबै लाग्नुपर्ने सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाको भनाई छ । ‘जनप्रतिनिधि, प्रहरी, नागरिक अगुवा आदीको समन्वयमा जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठहरुको अनुसन्धान कार्य भैहरको छ’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म छोउगोठ भेटिएको छैन् ।’
‘बागचौरमा १२÷१५ बर्ष पहिले छाउगोठ बनाएर बस्ने गरिएको रहिछ, अहिले पनि ती गोठहरु भेटियो’ उहाँले थप्नुभयो ‘तर अहिले दाउरा, स्याउला लगाएतका अन्य प्रयोगका लागी ती गोठहरु प्रयोग भएको पाईयो, प्रहरीको सक्रियतामा स्वयम् घरधनीले ती गोठ भत्काउनुभयो ।’ महिनावारी भएको बेला महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण छाउगोठ निर्माण गरिएको बुझिएको छ ।
जिल्लामा नयाँ छाउगोठ नभएपनि मानिस भित्र रहेको चेतनामा परिवर्तन नभएका कारण महिनावारी हुदा भान्सा बस्न नपाउने तथा दूध, दही, मही, घ्यू खान नपाउने यदाकता छ । मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले जिल्लामा महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान रहेको बताउनुभयो । ‘छाउगोठ नै बनाएर राख्ने चलन छैन, तर देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको छ’ उहाँले भन्नुभयो ।
उहाँले मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरीको बताउनुभयो । राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने उहाँको बुझाई छ । उहाँले समाजमा हुने हरेक बिकृतिलाई हटाउन सचेतनाका कार्यक्रम परिवार र घरबाट नै महाअभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कुसंस्कारको विरुद्धमा बोल्ने सबैजना सङ्गठित भएर गलत संस्कारका विरुद्ध एक जुट भई लागेमा यस्ता खालका गतिविधि शून्यमा झार्न सकिने सरोकारवालाहरुको भनाई छ ।