सल्यानमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम शुरु

सल्यान २५, पौष ।
कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सल्यानमा पनि शुरु भएको छ । तीन नगरपालिका र सात गाउपालिका गरि दश स्थानिय तह भएको सल्यानमा यो कार्यक्रम शुरु भएको हो । कर्णाली प्रदेश सरकारले बिशेष महत्वका साथ सञ्चालन गरेको यो कार्यक्रम हालै मात्र सल्यानमा शुरु भएको हो ।

नेपाल बैँक लिमिटेड सल्यान शाखामा पहिलो पटक शुक्रबार छोरीको बैँक खाता खोलिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ खलंगाका धिरज रावतले आफ्नी छोरी धैर्यता रावतको बैँक खाता खोलिदिनु भएको हो । धैर्यता पुस ११ गते जन्मिएकी थिईन् । वडा कार्यालयको सिफारिस, छोरीको जन्मदर्ता, २ प्रति फोटो तथा अभिभावकको नागरिकताको प्रतिलिपि र फोटो लिएर पहिलो पटक बैँकमा छोरीको बैँक खाता खोलिदिएको रावतले बताउनुभयो ।


उहाँले छोरीको भबिष्यका लागी यो कार्यक्रम निकैँ महत्वपूर्ण भएको बताउनुभयो । ‘कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम निकैँ महत्वपूर्ण छ, छोरीको उज्ज्वल भबिष्यका लागी मैले बैँक खाता खोलिदिएको हुँ’ उहाँले भन्नुभयो ‘अब प्रदेश सरकारले छोरीको बैँक खातामा मासिक रुपमा पैसा जम्मा गरिदिन्छ ।’ यस कार्यक्रमले छोराकै निम्ति गर्भमै छोरीको भ्रूण हत्या गर्ने, आमाहरुलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने गलत संस्कृतिको अन्त्य हुने उहाँको भनाई छ ।

यस कार्यक्रमबाट अब छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने र छोरी जन्मदा खुशी बन्ने संस्कारको बिकास हुने प्रदेश सरकारको अपेक्षा छ । गत साउन १ गते र त्यसपछि जन्मिएका छोरीको नाममा बैँक खाता खोलेर प्रदेश सरकारले पहिलो महिना एक हजार र दोस्रो महिनादेखि पाँच सयका दरले २० वर्षसम्म जम्मा गरिदिने छ । यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुनेछ ।

प्रदेश सरकारले छोरीको खातामा २० वर्षसम्म पैसा दिनेछ । तर, त्यो रकम २० वर्ष पुगेपछि मात्र झिक्न पाइनेछ । बालविवाह र महिलामाथि हुने विभेद हटाउनका लागि यो खाता सञ्चालन गरिएकाले २० वर्ष पुगेपछि मात्र पैसा झिक्न पाईने प्रदेश सरकारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस