सल्यान २९, पौष ।
सल्यान प्रहरीले दुरदराज प्रहरी गस्ती अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण भेगसम्म राज्यको पहुँच विस्तार तथा जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै प्रहरीले गस्ती अभियान थालेको हो । कुनै घटना तथा कार्यक्रम बाहेक दुरदराजमा प्रहरीको पहुँच पुग्न नसकेको भन्दै जनताको शान्ति सुरक्षा तथा अमनकायम गर्न गस्ती अभियान सञ्चालन गरिएको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
गस्तीका लागि प्रहरीको पहुँच नपुगेका भनिएका जिल्लाका ३८ स्थान छनौट गरिएको छ । प्रहरीले पानचौर, दार्मकोट, वाफुखोला,गुरुदासे, गर्चे, अवलवेसी, घुइयाबारी, जलजला, छरछरे, कालापातल लगायतका ३८ स्थानमा पहुँच रहेको जनाएको छ । २ घण्टादेखि ८ सम्मको पैदल दुरीमा पर्ने स्थानलाई प्रहरीले दुरदराजको स्थान भनेर वर्गीकरण गरेको छ ।