दुर्गा बिसी,
सल्यान ६, माघ ।
सल्यानको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल आउजाउ गर्ने सडक जीर्ण बन्दै गएको छ । सडकको आबश्यक मर्मत सम्भार नहुदाँ जिल्लाको बालुवासंग्रही देखी बाबियाचौर हुदैँ कुपिण्डे ताल पुग्ने सडक जिर्ण बन्दै गएको हो । यसले गर्दा कुपिण्डे ताल आउजाउ गर्ने पर्यटकहरुलाई समस्या हुने गरेको छ ।
अहिले सामान्य सवारीसाधान समेत आवतजावतमा निक्कै कठिनाई हुने गरेको छ । बिगतमा सडकको स्तरवृद्धि गरेपनि पक्की नाली निर्माण नहुदाँ ग्रावेल समेत पानीले वगाईसकेको छ । सडकको समयमा नै सर्मत सम्भार नहुदाँ कयौँ पर्यटकहरु हिडेर नै ताल सम्म आउजाउ गर्न बाध्य भएका छन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा पर्ने कुपिण्डे तालमा घुम्ने, ढुङ्गा सयर गर्ने र मन्दिरमा पुजा गर्नेहरुको भिड लागेको हुन्छ । तर सडकका कारण धेरै पर्यटक ताल घुम्न जानको लागि समस्या भनेको सडक नै भएको बताउछन् । सडकको स्तरोन्नती र मर्मत नहुदाँ समस्या भएको स्थानिय हरीहर कवरले बताएउनुभयो ।
उहाले यस सडकको कोटभिरमा निकैँ समस्या हुने गरेको बताउनुभयो । जीर्ण सडक हुदाँहुदैँ पनि जोखिम मोलेर कोटभिर वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । ‘बर्षमा तीन पटक रंग फेर्ने कुपिण्डे ताल पर्यटकहरुको रोजाई बनेको छ, दिनहुँ सयौँ पर्यटकहरु आउँछन’ उहाँले भन्नुभयो ‘सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई जोड दिएर सडकको मर्मत गर्न सके राम्रो हुने थियो ।’
पर्यटन वर्ष सुरुवात हुनु अगावै सडकको स्तरवृद्धि भएको भए यसले सकारात्मक सन्देश दिने कुपिण्डे ताल संरक्षण समितीका अध्यक्ष चेतवहादुर कवरले बताउनुभयो । यस सँगै खाना र बस्नको लागी राम्रो प्रबन्ध सहितको होटल सञ्चालन गर्न सके सहजता हुने उहाँको भनाई छ ।
यस सडकको कालोपत्रे गर्न सके पर्यटकहरुलाई कुपिण्डे ताल सम्म आउन सहज हुने वडा अध्यक्ष कुलवहादुर पुरीले बताउनुभयो । उहाका अनुसार वालुसँग्रही देखि वावियाचौर सम्म र त्यहाँ देखि ताल किनार सम्मको करिव १५ किलोमीटर सडक जीर्ण अवस्थामा रहेको छ । सडकको स्तरवृद्धि भएमा ताल घुम्न आउनेलाई सहजता हुने उहाँको दावी छ । पछिल्लो केही बर्ष यता कुपिण्डे ताल घुम्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।