बुद्धि पुन/महेश कुमार वली,
सल्यान ८, माघ ।
पछिल्लो समय बिभिन्न निकाय सवारी साधन दुर्घटना न्यूनिकरण अभियानमा जुटेका छन् । बिभिन्न स्थानहरुमा सचेतनाका अभियानहरु पनि सञ्चालन गरिन्छ । तर सल्यानमा सवारी साधन दुर्घटना हुने दरमा भने कमी आउन सकेको छैन् । बितेको छ महिनाको अबधिलाई हेर्ने हो भने जिल्लामा ४० वटा सवारी दुर्घटना भएका छन् ।
यस अबधिमा सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानसँग तथ्यांक छ । गत साउन देखी पुस महिनाको मसान्त सम्म जिल्लामा सवारी दुर्घटना हुदाँ ३ जना पुरुष र ५ जना महिलाको मृत्यू भएको छ । सोही अबधिमा ७ जना सक्तघाईते भएका छन् भने ८० जना सामान्य घाईते भएका छन् ।
यस आर्थिक बर्षको साउन महिनामा ४ वटा सवारी दुर्घटना भएका थिए । यस्तै भदौँमा ५ वटा, असोजमा ९ वटा, कार्तिकमा १० वटा, मंसिरमा ६ वटा र पुसमा ६ वटा दुर्घटना भएका छन् । साँघुरो सडक, सवारीको गति तिव्र, लगाएतका कारणले धेरै सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
तस्वीर : फाईल
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख सन्दिप बिकले सवारी दुर्घटना हुने पहिलो कारण चालकको लापरबाही भएको बताउनुभयो । यस्तै तीव्र गति, मादक पदार्थ सेवन, सवारी साधनको यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरबाही, सडकको अवस्था र पशुचौपायाका कारण पनि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
‘सवारी दुर्घटनाको कारण सबैलाई थाहा छ, हामी दुर्घटना न्यूनिकरण गर्ने अभियानमा छौँ’ उहाँले भन्नुभयो । तर कतिपयले भने नियम उल्लंघन गर्नेलाई जरिवाना न्यून हुँदा पनि चालकको लापरबाही बढेको बताउदैँ आएका छन् । दुर्घटनाका कारण विश्लेषण गरेर न्यूनीकरण गर्न र चालक एवं यातायात व्यवसायीलाई थप जिम्मेवार बनाउनुपर्नेमा उनीहरुको जोड छ ।