दुर्गा बिसी,
सल्यान १०, माघ ।
सल्यानको पश्चिम क्षेत्रका अधिकांस विद्यालयमा निर्माण गरिएका शौचालय प्रयोग विहिन अवस्थामा रहेको पाईएको छ । यस क्षेत्रका करिब ४० वटा बिद्यालयमा निर्माण गरिएका शौचालयहरु पानी अभावका कारण प्रयोग बिहिन अबस्थामा रहेको पाईएको हो । यस नगरमा ६५ वटा बिद्यालय छन् । नगरका सबै विद्यालयमा शौचालय छ तर विद्यार्थीहरु जंगल र विद्यालय क्षेत्र वाहिर शौच गर्न जानुपर्ने बाध्यता रहेको छ ।
यस क्षेत्रका विद्यालयमा साविक जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस सोशाईटी, वडा कार्यालय, नगरपालिका र अन्य संघ संस्थाको सहयोगमा लाखौ रुपैँया खर्च गरेर शौचालय निमार्ण गरिएको थियो । पानीको अभावको कारण देखाउँदै कतिपय विद्यालयले शौचालयलाई स्टोर शाखाको रुपमा प्रयोग गर्दै आएका छन् ।
सिद्धेश्वरी माद्यामिक बिद्यालय निगाल्चुला, सरस्वती प्राथामिक बिद्यालय निगाल्चुला, आन्दविनास आधारभुत विद्यालय वस्नेरा, कृष्ण माद्यामिक बिद्यालय लेखसंग्रही, भगवति निम्न माद्यामिक बिद्यालय खैरागाड, धुव्रतारा बिद्यालय च्युरा, लक्ष्मी प्राथामिक बिद्यालय मैदुपोखरी लगाएत करिव ४० बढी विद्यालयमा पानी अभावका कारण शौचालय वन्द रहेका छन् । दर्जन वढी विद्यालयले पानी अभावकै कारण सधँै शौचालय प्रयोग नगरेको जनाएका छन् ।
पानीको अभावले गर्दा समस्या भएको कृष्ण माद्यामिक बिद्यालय लेखसँग्रहीका प्रधानाध्यापक मोहन कुमार रोकायले बताउनुभयो । वडाका विभिन्न विद्यालयहरुमा निर्माण गरिएका शौचालय पानीको अभावमा प्रयोग गर्न समस्या भएको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभयो । खानेपानी समेत नपाईने स्थानमा शौचालय प्रयोग गर्न झन् समस्या भएको उहाँको भनाई छ ।
शौचालय प्रयोग बिहिन हुदाँ बिद्यार्थीहरु खुल्ला रुपमा शौच गर्न बाध्य छन् । यसले गर्दा उनीहरुको कक्षा घण्टी छुट्ने र अध्ययनमा समस्या हुने गरेको छ ।