सल्यान १०, माघ ।
सल्यानका मृर्गौला पिडितलाई आर्थिक सहयोगार्थ सांस्कृतिक कार्यक्रम सल्यानमा शुरु भएको छ । खलंगा स्थित टुडिखेलमा शुक्रबार देखी शुरु भएको कार्यक्रम शनीबार र आईतबार सम्म सञ्चालन हुने छ । सल्यानका ब्लड क्यान्सर, मृर्गौला पिडित तथा अन्य भयानक रोगबाट पिडित बालबालिका तथा नागरिकहरुको उपचारमा आर्थिक सहयोग गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमबाट जिल्लाको शारदा नगरपालिका १५ माल्नेटाका मृर्गौला पिडित राजेश नेपालीलाई आर्थिक सहयोग गरिने छ । अस्पतालको बेडमा छट्पटाई रहेका दुवै मृर्गौला पिडित नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि आर्थिक सहयोगार्थ सांंस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।
शारदा नगरपालिकाको बिशेष सहयोग र दलित सेवा संघ सल्यान तथा आर.जे. म्यूजिक काठमाण्डौँको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । दलित सेवा संघ सल्यानका अध्यक्ष दिल बहादुर परियारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले मृर्गौला पिडितको उपचारमा आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
बाँच्न पाउने अधिकार सबै नागरिकको भएको बताउदैँ उहाँले भयानक रोगबाट ग्रसितलाई उपचारको लागी आर्थिक सहयोग गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अनाबश्यक ठाँउमा गरिने खर्चलाई खटाएर पिडित ब्यक्तिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठ, पत्रकार बुद्धि पुन लगाएतकाले बोल्नु भएको थियो । आर.जे. म्यूजिकका राम जी दैखेलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन धन बहादुर परियार र पत्रकार गोबिन्द देव भारतीले गरिरहनुभएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायक राम जी दैखेली, गोपाल नेपाल जिएम, कृष्ण रेउले लगाएतका कलाकार, मोडल तथा हाँस्यकलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।