सल्यानको पश्चिमी क्षेत्रमा बिशेषज्ञ सहितको अस्पताल आबश्यक छ : राज्यमन्त्री रावत

दुर्गा बिसी,
सल्यान १८, माघ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सल्यानको पश्चिमी क्षेत्रमा बिशेषज्ञ सहितको अस्पतालको आबश्यक रहेको बताउनुभएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा बिशेषज्ञ सेवा सहितको अस्पतालको आबश्यकता रहेको बताउदैँ उहाँले यसका लागी आफुले पहल गरिरहेको बताउनुभएको हो ।

शनिबार सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्रमा रहेको देवस्थल स्वास्थ्य चौकीको अनुगमण गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यमन्त्री रावतले स्वास्थ्यका क्षेत्रमा देशभर समस्या भएको बताउँदै यसको समाधानका लागि आफु निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

“जिल्लाको पश्चिमी क्षेत्रमा बिशेषज्ञ सहितको अस्पतालको आबश्यकता छ”उहाँले भन्नुभयो “भौतिक संरचना निर्माण देखी आबश्यक औजार उपकरण तथा जनशक्ति ब्यबस्थापनको काम सरकारले गर्छ ।” उहाँले सामान्य रोगको उपचारको लागी पनि जिल्ला बाहिर जाने आम नागरिकको बाध्यताको अन्त्य गरिने बताउनुभयो ।


“स्वास्थ्य संस्थामा पाइने निःशुल्क औषधि अझै पनि केही केही स्वास्थ्य संस्थाहरुमा नपाईने गरेको भेटिन्छ” उहाँले थप्नुभयो “यसमा सुधारका लागि स्थानीय तहले अनुगमनको पाटोलाई बलियो बनाउनु पर्छ ।” स्वास्थ्य संस्था नभएका वडाहरुमा स्वास्थ्य इकाई स्थापना गरेर सेवा सुचारु गरिने उहाँको भनाई छ ।

उहाँले जिर्ण अबस्थामा रहेका स्वास्थ्य संस्थाहरुको मर्मत संम्भार गरेर सेवालाई स्तरीय बनाउने बताउनुभएको हो । कर्णालीको स्वास्थ्य क्षेत्रको सुधारको लागी आफुले प्रयास गरिरहेको उहाँको भनाई छ ।

सो अबशरमा बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोबिन्द कुमार पुनले नगरको स्वास्थ्य अबस्थाको बारेमा जानकारी दिनुभएको थियो । यस्तै राज्यमन्त्री रावतले सुर्खेतको सिम्ता गाउपालिकामा रहेका बिभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमण गर्नुभएको थियो ।

सो अबशरमा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले पनि गाउपालिका भित्रको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस