सल्यान २१, माघ ।
सल्यानमा पहिलो पटक जमराको जुस उत्पादन गर्न थालिएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा जमराको व्यावसायिक उत्पादन र जुस उत्पादन सुरु गरिएको हो । जमराको जुसले शरीरलाई स्वस्थ्य बनाउने र विभिन्न रोगहरूको निवारण गर्न पनि प्रभावकारी देखिएको भन्दै जमराको जुस उत्पादन गर्न थालिएको हो ।
श्रीनगरमा स्थानिय निर्मला अधिकारी, धन कुमारी शर्मा र रुक्मनी न्यौपाने मिलेर सामुहिक रुपमा जुस उत्पादन गर्न थाल्नुभएको हो । अर्गानिक जडिबुटि जमरा जुस नाम दिएर गत कार्तिक देखी गहुँ र जौँ को जमराबाट जुस उत्पादन शुरु गरिएको हो । मानिसले दैनिक बिहान खाली पेटमा ३० एमएल जमराको जुस नियमित ३ महिना सेवन गर्न सकेमा सबै प्रकारका रोगहरूको औषधि हुने सञ्चालकको दावी छ । जमराको जुस ३० एमएलको ३० रुपैयाँ मूल्य पर्ने गरेको छ ।