बुद्धि पुन,
सल्यान २३, माघ ।
सल्यानमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी ट्राफिक सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय सवारीको चाप बढेसँगै सवारी दुर्घटनामा पनि बृद्धि हुन थालेपछि सल्यान प्रहरीले ट्राफिक सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको हो । ‘ट्राफिक नियम जानौं र मानांै, आफू पनि बचौं अरुलाई पनि बचाऔं’ भन्ने मुलमन्त्रका साथ चालक सहचालकलाई जिल्लाको श्रीनगरमा २ दिने सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको हो ।
चालक एवं पैदल यात्रुले ट्राफिक नियम पालना नगर्दा सडक दुर्घटना हुन सक्ने भएकाले त्यसलाई रोक्न सचेतना अभियान सञ्चालन गरेको सल्यान प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । खास गरेर जनधनको क्षती कम गर्ने लक्ष्यका साथ सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
‘पैदल यात्री होस या सवारी चालक, सबै सडकको प्रयोगकर्ता हो’ उहाँले भन्नुभयो ‘सही तरिकाले सडकको प्रयोग गर्न सकिएन भने दुर्घटना हुन्छ ।’ उहाँले सवारी दुर्घटनाको प्रमुख कारण मानवीय कारण भएको बताउनुभयो । ‘चालकले तीव्र गतिमा सवारी चलाउनु हुदैँन्, क्षमताभन्दा बढी यात्रु नबोक्नुहोस, बजार क्षेत्रमा कम गतिमा सवारी चलाउनुहोस’ उहाँले थप्नभयो ‘सडक दुर्घटनाबाट जोगिन पैदल यात्रुलाई सडक किनाराबाट मात्र हिड्न, जथाभावी सडक पार नगर्न हाम्रो अपिल छ ।’
ट्राफिक प्रहरीलाई आँखा छल्न मात्रै नभई सबैको जीवन रक्षा गर्न चालकको महत्वपूर्ण भूमिका रहने भएकाले जिम्मेवार चालक बन्न उहाँले आग्रह गर्नुभयो । उहाँले चालकले यात्रुसँग बोल्दा पनि नम्र र सरल व्यवहारले बोल्नुपर्नेमा जोड दिनुभयो । दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी सँगै सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
सडक दुर्घटना न्यूनिकरण सचेतना अभियानका संयोजक तीर्थराज धितालको अध्यक्षतामा भएको कार्यक्रममा सल्यान उद्योग बाणिज्य संघ सल्यानका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, पूर्वअध्यक्ष सुधन श्रेष्ठ, सल्यान शारदा यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवा, श्रीनगर बजार ब्यबस्थापन समितीका अध्यक्ष हपिस भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक लक्ष्मण वलीले गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला स्थित सम्पूर्ण यातायात प्रा.लिको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको समन्वयमा सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम शुक्रबार पनि सञ्चालन हुने छ ।