बुद्धि पुन,
सल्यान २६, माघ ।
सल्यान प्रहरीले जिल्लाका सबै वडाहरुमा महिला जागरण समुह गठन गर्ने तयारी गरेको छ । सामाजमा हुने बिभिन्न बिकृतिको अन्त्य गर्दै शान्त समाज निर्माणका लागी जिल्लाका दश वटै स्थानिय तहका ८३ वटा वडामा महिला जागरण समुह गठन गर्न लागिएको हो । महिला वडा सदस्यको संयोजकत्वमा अहिले सम्म जिल्लाका करिब ४७ वटा वडाहरुमा समुह गठन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा १८ बुदेँ प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले अहिले वडा स्तरमा कम्तिमा पनि १५ सदस्यीय जागरण समुह गठन गरिएको बताउनुभयो । महिला वडा सदस्यको संयोजकत्वमा सबै वडाहरुमा महिला जागरण समुह गठन गर्न शुरु गरेको बताउदैँ उहाँले भन्नुभयो ‘अहिले सम्म जिल्लाका करिब ४७ वटा वडामा गठन भएको छ, बाँकी वडाहरुमा पनि तत्काल गठनको तयारी शुरु गरिएको छ, अबको १÷२ दिनमा नै गठनको काम सकिन्छ ।’
उहाँले सामाजमा हुने सबै खाले बिकृतिको अन्त्य गरिनुका साथै समाजमा हुने सबै प्रकारका हिंसा न्यूनिकरणमा यसले सहयोग मिल्ने बताउनुभयो । यस्तै आगलागी नियन्त्रणका लागी सबै वडामा वडाअध्यक्षको संयोजकत्वमा बिपद् ब्यबस्थापन समिती गठन गरिने उहाँको भनाई छ । यस अभियान अन्र्तगत अहिलेसम्म करिब २८ वटा वडाहरुमा बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।
प्रहरीले यस अबधिमा स्थानिय तहसँग समन्वय गरेर पुरोहित, जैसी तथा पाष्टर र छापाखाना सञ्चालकहरुलाई बालविवाह न्यूनिकरणमा सहयोग गर्ने प्रतिबद्धता बनाएको छ भने दुर्घटना न्यनिकरणका लागी २ दिने ट्राफिक सचेतना कार्यक्रम गरिएको, जिल्लाभर एक घर एक स्टिकर अभियान सञ्चालन गरिएको जनाएको छ ।
यस्तै सवारीचालक अनुमति पत्र बिना अटो लगाएतका सवारी साधन चलाउन नदिएको, स्थानिय तहसँग समन्वय गरेर घरेलु मदिरा नियन्त्रण गरेको, जिल्ला मातहत सम्पूर्ण प्रहरी ईकाइहरुमा मा.प.से. बिरुद्ध आन्तरिक सुदृढिकरण पूर्ण रुपमा गरिएको, खलंगा र श्रीनगर चोकमा ट्राफिक प्रहरी सहितको चेक पोईन्ट खडा गरिएको प्रहरीले जनाएको छ ।
गत भदौँ १८ गते यता लागु औषध मुद्धाका ९, जुवातास मुद्धाका १६, बालबिवाह मुद्धाका १५, जवरजस्ती करणीका ६, जवरजस्ती करणी उद्योगका ४, कर्तब्य मुद्धाका ४, चोरी मुद्धाका २, हातहतियार तथा खरखजना मुद्धाका ३, मानव बेचबिखन मुद्धाका २, सवारी ज्यान मुद्धाका ५ लगाएतका अन्य मुद्धाका प्रतिवादीहरुलाई पक्राउ गरि मुद्धा फर्चौट गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस अबधिमा बहुबिबाह मुद्धा, बिष्पोटक पदार्थ मुद्धा, कर्तब्य मुद्धा लगाएका बिभिन्न मुद्धामा फरार भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै प्रतिबन्धित पार्टी विप्लव सँग सम्बन्धि मुद्धाका १७ जना प्रतिवादीलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।