सल्यान २८, माघ ।
सल्यानमा सञ्चालन हुन लागेको प्रादेशिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा बुधबार माघ २९ गते देखि फागुन ११ गते सम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो । मंगलबार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै सल्यान उद्योग बाणिज्य संघ सल्यानले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
महोत्सवको बुधबार दिउसोँ २ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु हुने छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले जिल्लामा उत्पादित स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्वसको आयोजना गरिएको जानकारी दिनुभयो ।
‘कृषि, पशु, वन, उद्योग, ब्यापार तथा पर्यटन बिकासको परिकल्पना’ ‘ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको हो । महोत्सवमा कृषिजन्य, बनजन्य, उद्योगजन्य बस्तुका साथै जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा जिल्लाका परम्परागत तथा धार्मिक नृत्यहरु महोत्सवको मुख्य आकर्षणको रुपमा रहने छन् ।
यस्तै महोत्सवमा २ सय बढी स्टलहरु रहने छन् भने महोत्सवमा बाल उद्यान सँगै बिभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । महोत्सवमा नायक निखिल उप्रेती, दिलिप राईमाझी, पशुपति शर्मा, कुलेन्द्र बिक, प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, प्रिती आले, दुर्गेश थापा, शान्ति श्री परियार लगाएतका बिभिन्न कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव प्रवेशको लागी रु. १ सय टिकट शुल्क निर्धारण गरिएको छ ।
महोत्सवको अबधिभर करिब ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवको १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अबलोकन गर्ने आयोजकको भनाई छ ।